ब्लगशुक्रवार, पौष १, २०७३

मनका राजाः जिग्मे परवल बिष्ट

वसन्त महर्जन

राजाको पद नरहे पनि पूर्व मुस्ताङी राजा जिग्मे परवल बिष्ट स्थानीयका मनमा राज गरिरहेका थिए ।

तिजी पर्वका बेला मुस्ताङ्स्थित दरबारको पटाङ्गिनीमा पूर्व मुस्ताङी राजा जिग्मे । सबै तस्वीर: बसन्त महर्जन

पूर्व मुस्ताङी राजा जिग्मे परवल बिष्टको ८६ वर्षको उमेरमा काठमाडौंमा १ पुस विहान निधन भयो ।

नेपालमा गणतन्त्रको घोषणासँगै मुस्ताङको राजा पदबाट स्वतः अवकास पाएका जिग्मे परवल बिष्टले मुस्ताङी जनजीवनबाट भने कहिल्यै अवकास पाएनन् ।

राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाजस्तो युगान्तकारी ऐतिहासिक घटनापछि मुस्ताङको अध्ययनमा पुगेको बेला मलाई पूर्वराजा र स्थानीय जनजीवनबीचको सम्बन्ध जान्ने खुलदुली पनि थियो ।

मुस्ताङ दरबार

मुस्ताङ बसाइका क्रममा थाहा भयो, राजा र स्थानीयबीचको सम्बन्धमा हार्दिकता यति धेरै रहेछ कि बाहिरियासँग उती धेरै नखुल्ने मुस्ताङी समुदायमा घुलमिल हुन राजा–रानीबाट कुराको शुरुवात गर्नु सहज थियो ।

काठमाडौंमा तिनै ८५ वर्षीय पूर्व राजाको निधनको खबर पाएपछि फेरि एकपटक मुस्ताङी जनजीवन सम्झन पुगेको छु ।

उपल्लो मुस्ताङका अधिकांश घर–पसलमा राजारानीको तस्वीर टांगिएको हुन्थ्यो ।

आफूलाई पूर्वराजा जिग्मेको समवयी–साथी बताउनेहरु युवाअवस्थामा उनै राजकुमारसँग घोडा कुदाएको र शिकार खेल्न गएको कुरा सुनाउन भुल्दैनन् ।

“राजा भएपछि भेटघाट र भलाकुसारी छैन त ?” भन्ने प्रश्नको जवाफ हुन्छ, ‘‘किन नहुनु ? कति भेटियो कति ।’’

मुस्ताङ दरवारमा एउटा आफ्नै खालको प्रशासन र संयन्त्र हुन्थ्यो । भारदारहरुको पनि आफ्नै भूमिका हुन्थ्यो । तर कहिले काहीँ राजा बाहिर डुल्न आउँदा ती पुराना दौतरीहरुसँग भलाकुसारी गर्न भुल्दैनथे ।

समय तिजी पर्वको थियो । दरवारको पटाङ्गिनीमा गुम्बाका लामा भिक्षुहरुले प्रदर्शन गर्ने विशेष तान्त्रिक नृत्य तथा पूजामा सहभागी हुन आएका राजाले त्यहाँ आफ्ना दौतरीहरुसँग भलाकुसारी गरेका थिए ।

यसरी भलाकुसारी गर्न पाएकामध्ये एकले मलाई सुनाए, ‘‘मैले भनेको थिएँ नि, अब त पत्याउनु भयो !’’

गणतन्त्रको स्थापनापछि जिग्मे परवल बिष्ट भलै प्रशासनिक राजा भएनन् । तर, चाडपर्व तथा अन्य साँस्कृतिक गतिविधिमा उनको स्वास्थ्यले साथ दिंदासम्म सहभागिता छुट्दैनथ्यो ।

मुस्ताङी जनजीवनमा बिष्टको राजा पद नरहनुसँग कुनै गुनासो थिएन । सांस्कृतिक रुपमा उनीहरुले बिष्टलाई राजा मानेकै थिए । स्वयं यी पूर्वराजाले पनि यस विषयमा कुनै टिप्पणी गर्न चाहेनन् ।

तर, साँस्कृतिक उत्सवमा समभागी हुन आउँदा अघिपछि नाच्दैगाउँदै आउने भारदारहरुले भने साँस्कृतिक जीवनलाई निरन्तरता दिइ नै रहे ।

वर्तमानमा जसलाई मुस्ताङ क्षेत्र भनिएको छ, यो बाह्रौ शताब्दीमा स्थापना भई करीब तीन सय वर्षसम्म कायम रहेको खश साम्राज्यको एउटा भूभाग थियो । तिब्बतको एकीकरणका क्रममा मुस्ताङ क्षेत्र खस साम्राज्यबाट अलग भएकाे हाे ।

यस क्षेत्रको रेखदेख गर्न खटिएका सरदारकै सन्तान अमपाल (१३८७–१४४७) ले सन् १४४० मा तिब्बतको केन्द्रीय राज्यसँग विद्रोह गरी स्वतन्त्र लो राज्य कायम गरेका थिए । लो राज्यको राजधानी मन्थाङ हो । उक्त मन्थाङ आज लोमन्थाङका नामबाट चिनिन्छ । समयक्रममा लो राज्य जुम्लाको करद राज्य हुन पुगेको थियो ।

यही भएर पछि विशाल नेपालको सीमा विस्तारको क्रममा पृथ्वीनारायण शाहका कान्छा राजकुमार बहादुर शाहका सेनाले जुम्लामाथि दख्खल गरेपछि लो पनि स्वतः नेपालमा गाभिन पुगेको हो ।

लोमन्थाङको स्थानीय परिवेश अहिले पनि केही सय वर्षअघिको तिब्बतजस्तो लाग्छ । यही भएर तिब्बतको अतीतलाई नियाल्नकै लागि पनि उपल्लो मुस्ताङको यात्रा गर्नु राम्रै उपाय हो ।

उपल्लो मुस्ताङ प्राकृतिक सौन्दर्यका लागि मात्रै नभएर इतिहास, संस्कृति तथा पुरातत्वका दृष्यले पनि उत्तिकै रोचक र महत्वपूर्ण ठाउँ हो ।
हालसालै बनेका घरहरुबाहेक अरु जम्मै माटोबाट निर्मित छन् । विभिन्न टोलहरुमा विभाजित ती गुजमुज्ज परेका घर र गुम्बाहरुको बीचमा

मुस्ताङ्का पूर्व राजा जिग्मे परवल बिष्ट

एउटा ठूलो र चार तल्ले माटोको घर पनि ठडिएको छ, जुन राजदरबार होे । पूरै राजधानीलाई समेटेर एउटा ठूलो र अग्लो पर्खाल लगाइएको छ ।

स्वतन्त्र राज्य स्थापना भएकै वर्ष अर्थात सन् १४४० मा दरबारको निर्माणका साथै पूरै वस्तीलाई समेटेर बनाइएको यो पर्खाल पनि माटो निर्मित हुनु नै यसको विशेषता र पर्यटकीय आकर्षण हो ।

राजाको पद खोसिइसक्दा पनि विशिष्ट पर्यटकहरुका लागि केही अघिसम्म पूर्वराजा अर्को आकर्षण हुन्थे ।

तिजी पर्वका अवसरमा सार्वजनिक रुपमा देखा परेका राजालाई उनकै दरबारमा भेट्ने इच्छा हुनु स्वाभाविक थियो । पहिल्यै अनुमति माग्नु पर्ने भए पनि एक स्थानीयको सिफारिसमा उनलाई त्यसबेला भेट्ने अवसर पाइयोे ।

इतिहास, संस्कृति तथा पुरातत्वका विषयवस्तुमा अध्ययन् गरिरहेको मलाई पूरै माटो निर्मित दरवार आफै अध्ययनको विषयवस्तु थियो ।

दरबारभित्र नै सुनको मसीले लेखिएको महत्वपूर्ण बौद्धग्रन्थ ‘अष्टसहश्रिकाप्रज्ञापारमिता’, विभिन्न बौद्धमूर्ति, थाङकालगायतका कलाकृतिहरु पनि सुरक्षित रहेको थाहा थियो तर ती सहज पहुँचमा थिएनन् ।

साथमा लिएर गएको खादा राजाले हामीलाई लगाइ दिए भने मैले आफ्ना प्रकाशित पुस्तकहरु उपहार चढाएँ ।

पुस्तकमा छापिएका बौद्ध स्थलका तस्वीरहरु उनका लागि नौला थिएनन् । ती तस्वीर हेरेर मुस्कुराउनुको पछाडि आफू ती ठाउँहरुमा जाँदाको क्षण संस्मरण भएको हुनसक्छ ।

तिब्बती भाषामा मात्रै बोल्ने राजासँग दोभाषेको सहयोगबाट कुराकानी भयो । त्यसबेला मुस्ताङी राजदरबारमा खाएको चियाको तिब्बती स्वाद अझै पनि सम्झना छ ।

प्रतिकृया दिनुहोस