अस्मिताको बयान सकियो, रवि र युवराजको सोमबार
चितवन सरकारी वकिलको कार्यालयले रवि लामिछानेसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेपछि अदालतले वयान लिन शुरु गरेको छ ।
न्यायाधीश हेमन्त रावलको इजलासमा पालैपालो बयान लिइने अदालतले जनाएको छ । आइतबार अस्मिता कार्कीको बयान लिइएको छ । अस्मिताको बयान आइतबार लिएको अदालतले रवि लामिछाने र युवराज कँडेलको भने सोमबार मात्रै बयान लिइने भएको छ ।
प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुमा रवि लामिछाने सहित तीन जनाले दुरुत्साहन गरेको प्रमाण सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । गत ३० साउनदेखि तीनै जनालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्दै आएको थियो ।
पाँच/पाँच दिन गरी दुई पटक म्याद थप गरेर अनुसन्धान गरेपछि प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा आइतबार बुझाएको हो । प्रतिवेदनको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले रविसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहन गरेको पर्याप्त प्रमाण भेटिएको भन्दै मुद्दा दर्ता गरेको छ ।
चितवन जिल्ला अदालतमा दायर मुद्दामा तीनै जनालाई पाँच वर्ष कैद र रु ५० हजार जरिवाना माग गरिएको छ ।