थप समाचारआइतबार, ८ भाद्र , २०७६

बंगलादेश : रोहिंग्या शरणार्थीकाे र्‍यालीमा दुई लाख सहभागी

रासस

म्यानमारबाट विस्थापित भएका रोहिंग्या शरणार्थीहरूले बंलादेशस्थित शिविरमा र्‍याली निकालेका छन् ।

तस्वीर: रासस

म्यानमारमा आफ्ना आफन्तहरु विरुद्ध जातीय हिंसा भएको दुई वर्ष पुगेको दिन पारेर झण्डै दुई लाख र्‍यालीमा सहभागी भएका हुन् ।

सन् २०१७ को अगस्ट महिनामा म्यानमारको राखिन राज्यमा भएको हिंसाका कारण झण्डै सात लाख ४० हजार रोहिंग्या विस्थापित भएर बंगलादेशको शरणार्थी शिविरमा बस्दै आएका छन् ।

र्‍यालीमा बालबालिका, बुर्का पहिरिएका महिला पनि सहभागी भएका थिए । उनीहरूले रोहिंग्या जिन्दावाद भनेर नारा लगाएका थिए ।

अहिले रहेको बंगलादेशको शरणार्थी शिविरलाई संसारकै ठूलो शरणार्थी शिविर मान्ने गरिएको छ ।

म्यानमारको राखिन राज्यमा मुस्लिम र बौद्ध धर्मावलम्बीहरूका बीचमा धार्मिक र जातीय द्वन्द्व भएपछि उनीहरू विस्थापित भएको अधिकारीहरूले जनाएका छन् ।

विस्थापित भएका रोहिंग्याहरूलाई बंगलादेशमा शिविर बनाएर राखिएको छ । त्यहाँ उनीहरूलाई शिविर रहेको क्षेत्रभन्दा बाहिर हिंड्न स्वतन्त्रता दिइएको छैन ।

शरणार्थीहरूलाई स्वदेश फर्काउने बारेमा सन् २०१७ मै बंगलादेश र म्यान्मारबीच सम्झौता भएको थियो । तर त्यो अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

सुरक्षा र नागरिकताको सुनिश्चितता नभएको भन्दै शरणार्थीहरूले सम्झौता अनुसार स्वदेश फर्किन अस्वीकार गर्दै आएका छन् ।

पछिल्लो पटक गत बिहीबार ३५ सय शरणार्थीलाई स्वदेश फर्काउने तयारी अन्तिम चरणमा पुगेको थियो । तर शरणार्थीहरूले सुरक्षा र नागरिकताको सुनिश्चितताको शर्त राखेपछि स्वदेश फर्काउने पछिल्लो प्रयास अर्थहीन भएको छ ।

 

प्रतिकृया दिनुहोस