प्रधानमन्त्री मोदीका लागि श्रद्धाञ्जलि वर्ष
पूर्व वित्त एवम् सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का नेता अरुण जेट्लीको शनिबार दिउँसो निधन भएको छ । उपचारका क्रममा जेट्लीको ६६ वर्षको उमेरमा निधन भएको छ ।
जेट्ली भाजपाका प्रभावशाली नेता मात्रै थिएनन् । प्रधानमन्त्री नरेन्द्र मोदीलाई दोस्रो कार्यकालका लागि आधार तयार पारिदिने वित्त मन्त्री समेत थिए ।
जेट्लीको निधनपछि प्रधानमन्त्री मोदीले स्तब्ध भएको प्रतिक्रिया दिए । १८ दिन अगाडि मात्रै मोदी मन्त्रिपरिषदकै विदेश मन्त्री सुष्मा स्वराजको निधन भएको थियो । जेट्ली र स्वराज मात्रै होइन । यो वर्ष प्रधानमन्त्री मोदी र भाजपाले थुप्रै प्रभावशाली नेताहरुलाई गुमाएको छ ।
गत वर्ष १६ अगष्टमा पूर्व प्रधानमन्त्री समेत रहेका अटल बिहारी बाजपेयीको निधन भएको थियो । १७ मार्चमा गाेवाका पूर्व मुख्यमन्त्री मनोहर परिकारलाई भाजपाले गुमाएको थियो । ६३ वर्षको उमेरमा परिकारको निधन भएको थियो ।
१२ नोभेम्बरमा पूर्व संघीय सांसद अनन्त कुमारको निधन भएको थियो ।
२८ अक्टोबरमा दिल्लीका पूर्व मुख्यमन्त्री मदनलाल खुरानाको निधन भएको थियो । गत २१ अगष्टमै मध्य प्रदेशका पूर्व मुख्यमन्त्री बादुलाल गौरको निधन भयो भने २१ जुलाइमा भाजपाका पूर्व दिल्ली प्रमुख मांगेराम गार्गको निधन भएको थियो ।