राहुल गान्धी लगायत विपक्षी नेतालाई श्रीनगरबाटै फिर्ता, जम्मू–कश्मीरमा स्थिति ठीक नभएकाे प्रतिक्रिया
जम्मू–कश्मीरका लागि गएको कांग्रेस नेता राहुल गान्धी लगायत अन्य भारतीय विपक्षी पार्टीका नेताहरूको प्रतिनिधिमण्डललाई शनिबार श्रीनगर विमानस्थलबाटै दिल्ली फिर्ता पठाइएको छ ।
उनीहरूलाई एयरपोर्टबाट बाहिर निस्कन नदिइएको पनि बीबीसीले जनाएको छ।
विपक्षी पार्टीहरूका नेताहरूको भ्रमणको रिपोर्टिङमा गएका पत्रकारहरूमाथि पनि प्रहरीले नराम्रो व्यवहार गरेको बताइएको छ । उनीहरूलाई प्रहरीले यो ‘डिफेन्स एयरपोर्ट’ हो यहाँ रिपोर्टिङ गर्ने अनुमति छैन ।
कश्मीरका लागि गएका विपक्षी पार्टीहरूको प्रतिनिधिमण्डलमा कांग्रेस नेता राहुल गान्धी, गुलाम नबी आजाद, आनन्द शर्मा, केसी वेणुगोपाल, सीपीएम महासचिव सीताराम येचुरी, डीएमके नेता तिरुची शिवा, शरद यादव, टीएमसी नेता दिनेश त्रिवेदी, एनसीपी नेता माजिद मेमन तथा सीपीआई महासचिव डी राजा पनि सहभागी थिए ।
‘नेताहरू कश्मीर नआउनू, सहयोग गर्नू’ भनेर प्रतिनिधिमण्डल श्रीनगर उड्नुभन्दा पहिले जम्मू–कश्मीर प्रशासनको विज्ञप्ति आएको बताइएको छ । साथै प्रहरीले पनि एयरपोर्टबाट बाहिर जान नदिने जानकारी पहिले नै दिएको बताइएको छ ।
तर, विपक्षी नेताहरूले यस्तो कुनै सूचना पहिले जानकारी नगराइएको बताएका छन् ।
कांग्रेस विपक्षी नेता गुलाम नबी आजादले भने, “त्यहाँ स्थिति सामान्य छ भने विपक्षी नेताहरूलाई किन जान दिइँदैन ? मेरो घर त्यहाँ छ तर पनि म आफ्नो घरमा जान पाइरहेको छैन ।”
यस अघि पनि सीताराम येचुरीलाई श्रीनगर एयरपोर्टबाटै फिर्ता पठाइएको थियो।
जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा हटाएपछि राहुलले राज्यको स्थितिका बारेमा चिन्ता व्यक्त गर्दै मोदी सरकारमाथि हमला गर्दै आएका थिए।
यसपछि जम्मू–कश्मीरका राज्यपाल सत्यपाल मलिकले घाटीमा स्थिति सामान्य छ भन्दै कश्मीर आउने निम्तो दिएका थिए ।
यसैबीच जम्मूकश्मीरको अवस्थाबारे जानकारी लिन गएको प्रतिनिधिमण्डल श्रीनगरबाटै फिर्ता भएपछि दिल्ली पुगेर राहुल गान्धीले श्रीनगरको अवस्था ठीक नभएको बताएका छन् ।
कांग्रेस नेता गुलाम नबी आजादले पनि स्थिति भयावह भएकाे बताएका छन् ।