समलिंगी मोनिकाद्वारा पति विरुद्ध नै बलात्कारको आरोप
तेस्रोलिंगी मोनिका शाही (मनोज) ले पति विरुद्ध नै बलात्कारको मुद्दा दायर गरेकी छन् ।
मोनिकाले पति रमेशनाथ योगीबाट जबरजस्ती बलात्कारमा परेको भन्दै २१ साउनमा जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएकी हुन् ।
मोनिकाले २८ साउनमा जिल्ला अदालत कैलालीमा सासू–ससुरा विरुद्ध अंशमुद्दा समेत दर्ता गराएकी छिन् ।
यो जोडीले वैशाख २०७४ मा विवाह गरेका थिए । र, डडेल्धुराकै परशुराम नगरपालिकामा विवाह दर्ता गराएका थिए ।
त्यहीवर्षको १५ साउनमा मोनिकाले जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट पतिकाे नाम राखेर नागरिकताको प्रतिलिपि पनि लिएकी थिइन् ।
मोनिकाले उजुरीमा गत साउन अन्तिम साता धनगढीको एक होटेलमा लागू औषध सेवन गरेर योगीले पटक–पटक जबरजस्ती करणी गरेको उल्लेख छ।
मोनिका रमेशनाथकी कान्छी श्रीमती हुन् ।
डडेल्धुराको परशुराम नगरपालिका–१२ का रमेशनाथ र मोनिकाले विवाहपछि नेपालको पहिलो समलिंगी विवाह भन्दै विभिन्न संचार माध्यमलाई अन्तर्वार्ता समेत दिएका थिए ।
“यसअघि पनि बलात्कार हुने गरे पनि आफ्नो र परिवारको इज्जतका लागि उजुरी गरेकी थिइनँ”, मोनिकाले भनिन् ।
मोनिकाका अनुसार, शुरुमा त कैलाली प्रहरीले उजुरी दर्ता गर्न नै मानेन । “तेस्रोलिंगी पनि कहीँ बलात्कारमा पर्छन् भन्दै प्रहरीले केही समय अल्झाइरह्यो, पछि बल्ल दर्ता भयो”, उनले भनिन् ।
कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीले वैवाहिक जोडी बलात्कारमा परेको उजुरी आए दर्ता गर्नुपर्ने नयाँ मुलुकी अपराध संहिताका आधारमा उजुरी दर्ता गरेको जानकारी दिए ।
“शुरुमा कुन कानून अनुसार उजुरी लिने भन्ने अन्योल थियो”, गिरीले भने, “वैवाहिक जोडी बलात्कारमा परेको उजुरी लिन सकिने मुलुकी अपराध संहिता अनुसार उजरी दर्ता गरेका हौं ।”
मोनिकाले शुरुमा विवाह दर्ताको प्रमाण नल्याएकाले दर्ता नगरेको बताए ।
प्रहरीले मोनिकाका पतिकाे खोजी गरिरहेको गिरीले बताए ।
मोनिकाले पति भारततर्फ भागेको खबर पाएको बताइन् ।
“यो मेरो मात्रै मुद्दा होइन”, मोनिका भन्छिन्, “समग्र तेस्रोलिंगी माथि बलात्कार हुन्छ भन्ने नजिर समेत हो ।”
यो पनि पढ्नुहोस् –