विराटनगरमा रथयात्रा, उच्च सुरक्षा सतर्कता
विराटनगरमा शनिबार निकालिने रथयात्राको सुरक्षाका लागि प्रहरीले उच्च सतर्कता अपनाएको छ । १ हजार ५०० प्रहरीले सुरक्षा दिने रथयात्राको निगरानी ड्रोन क्यामेराबाट पनि गरिने भएको छ ।
५ लाख बढी भक्तजनले अवलोकन गर्ने रथयात्राको ५२औं संकरणमा हेलिकप्टरबाट पुष्पवृष्टि गराइने आयोजकले जनाएको छ । पानीटंकीस्थित राधाकृष्ण मन्दिरबाट निकालिने रथयात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीले तीन घेरामा सुरक्षा दिने बताइएको छ ।
रथयात्राको भीडमा हुने चोरी निगरानी गर्न २०० जना प्रहरीलाई सादा पोशाकमा परिचालन गरिने मोरङ प्रहरीका नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।
गत वर्षको रथयात्रामा पर्स र गहना चोरी गर्ने ९० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तीनपैनीबाट मेनरोड हुँदै गोल्छा चोक, ट्राफिक चोक, महेन्द्र चोक, भृकुटी चोक, बरगाछी भएर पुनः तीनपैनीस्थित राधाकृष्ण मन्दिर पुग्दा रथले ७ किलोमिटरको यात्रा तय गर्नेछ ।
यस क्षेत्रमा प्रहरीका ५४ वटा पेकेटले सुरक्षा दिने छन् । यस अवधिमा रथलाई ४० स्थानमा विश्राम गराइने आयोजकले जनाएको छ ।
सुनौलो रंगको पेगोडा शैलीको १८ फिट अल्गो, १४ फिट चौडा र २२ फिट लामो रथमा दुईतर्फ ७५ फिट लामो डोरी लगाएर प्रहरी मार्फत तानिन्छ ।
सर्वसाधारणलाई रथ तान्न सहयोग गर्ने स्वयमसेवकलाई प्रहरीले प्रशिक्षण दिएको छ । अपरान्ह ३ः३० बजे सुरु हुने रथयात्रा ७ बजेपछि समापन हुनेछ ।
रथयात्रा समारोहलाई सफल बनाउन आयोजकले १८ वटा उपसमिति बनाएर जनशक्ति परिचालन गरेको छ । रथयात्रा अघि अघि ६० वटा समूहले झाँकी प्रदर्शन गर्नेछन् । आयोजकले बढी भेटी तोकेर धनाढ्यलाई रथको विषेश पूजा गर्न दिने गरेको चलनलाई यस वर्ष भने रोकेको छ ।
-कमल रिमाल