टिप्पणीशुक्रबार, ६ भाद्र , २०७६

नेपाली बौद्ध वज्रयान

वसन्त महर्जन

विभिन्न धर्मदर्शनको विकासका क्रममा अनेकौं सम्प्रदाय देखा पर्नु र सोही अनुसार अभ्यास हुनु स्वाभाविक हो । बौद्ध धर्मदर्शन पनि यसबाट अछुतो छैन । यसबाहेक स्थान वा समुदाय विशेषसँग सम्बन्धित भएर पनि बौद्ध धर्मले बेग्लै पहिचान बनाएको छ । चारित्रिक विशेषतालाई ध्यानमा राखेर पाश्चात्य जगत्ले राखिदिएको नाम ‘नेवार बुद्धिज्म’ नेवार समाजमै पाच्य भएको छैन । उनीहरू ‘नेपालमण्डलको बौद्ध धर्म’ राख्न सुझउँछन् । बरु यसैलाई ‘नेपाली बौद्ध धर्म’ भनेर अगाडि बढ्दा युक्तिसङ्गत हुने देखिन्छ ।

वसन्त महर्जन

बौद्ध धर्मलाई नेपाली, चिनियाँ, जापानी, कोरियाली भनेर बेग्लाबेग्लै रूपमा लिन नहुने र जहाँ पुग्यो त्यहींको नाम दिएर चिनाउँदै जानुको औचित्य छैन भनेर असहमति जनाउनेहरू पनि छन् । यद्यपि समग्र बौद्ध धर्म र यसको विकासक्रमलाई अध्ययन गर्दा त्यसमा आपत्ति जनाउनुपर्ने कारण भने केही देखिंदैन ।

सामान्यतः धर्म र संस्कृति एउटै हो भन्ने बुझाइ छ तर बौद्ध धर्मको सन्दर्भमा ‘धर्म’ र ‘संस्कृति’ बेग्लाबेग्लै रूपमा अगाडि बढ्ने गरेको छ । गौतम बुद्धले धर्मोपदेश दिंदा त्यसको पालना गर्नमा मात्रै जोड दिए तर निश्चित विधिविधान अनुसार नै पालना गर्नुपर्छ भनेर निर्दिष्ट गरेनन् ।

जसरी बौद्ध धर्मका लागि निर्दिष्ट भाषा तय गरिएको छैन त्यसरी नै संस्कृतिका रूपमा रहेका विधिविधान तथा रीतिरिवाज तय नगरिनु पनि बौद्ध धर्मको उल्लेखनीय विशेषता हो ।

समाज, समुदाय, भूगोल लगायत वातावरण अनुकूलको बौद्ध धर्म दर्शनको अभ्यास गर्ने स्वतन्त्रताले गर्दा पनि यो विश्वमा फैलन सकेको हो ।

एउटै बाटो भई बौद्ध र हिन्दू धर्म भारतबाट चीनतर्फ प्रवेश गरेको भए पनि भारतीय रीतिरिवाज तथा अन्य कुरा चिनियाँ भूगोलमा उपयुक्त नहुँदा हिन्दू धर्म विस्तार हुन सकेन । तर स्थानीय वातावरण अनुसार फैलने स्वतन्त्रता भएकै कारण बौद्ध धर्म सम्पूर्ण भारतको भन्दा विस्तृत भूक्षेत्र भएको चीनमा फैलियो ।

बौद्ध धर्म चीनमा

इस्वी संवतको शुरूतिर चीन पुगेको बौद्ध धर्मले त्यहाँबाट कोरिया पुग्दा धेरै विरोधको सामना गर्नु परे पनि इ.सं. ५२८ सम्ममा सर्वस्वीकार्य भइसकेको थियो । यसरी नै बौद्ध धर्म कोरियाबाट जापानमा इस्वीको छैटौं शताब्दीको मध्यतिर मात्रै पुग्यो । यात्राको क्रममा बौद्ध धर्मले स्थानीय विरोध र थुप्रै अवरोध सामना गर्नु परेको थियो ।

ती ठाउँहरूमा सर्वस्वीकार्य हुन लामो समय कुर्नुपरेको चाहिँ देखिंदैन । यसो हुनाको खास कारण स्थानीय सांस्कृतिक परिवेशमा घुलमिल हुन सक्ने यो धर्मदर्शनको लचिलोपन वा उदारता नै हो । जापानमा परम्परागत शिन्तो र तिब्बतमा बोन संस्कृतिसँग भिजेर बौद्ध धर्मले आफ्नो जरा गाड्न सक्यो ।

यस अनुसार चिनियाँ, जापानी, कोरियाली, तिब्बती, थाई, श्रीलङ्कन आदि नामको बौद्ध धर्म भूगोलसँग नभएर संस्कृतिसँग सम्बन्धित हुन पुग्यो र प्रत्येकले आआफ्नै पहिचान प्रस्तुत गर्न सके ।

भौगोलिक अवस्थिति, बौद्ध साहित्य र ऐतिहासिक प्रमाणलाई आधार मान्दा बौद्ध धर्म गौतम बुद्धको जीवनकालमै काठमाडौं उपत्यका प्रवेश भइसकेको मान्न कर लाग्छ । त्यो वेलाको काठमाडौं उपत्यका व्यापारिक केन्द्र त थियो नै अनेकौं धर्म–संस्कृतिको सङ्गमस्थलका रूपमा पनि विकसित भइरहेको थियो ।

एउटै बाटो भई बौद्ध र हिन्दू धर्म भारतबाट चीनतर्फ प्रवेश गरेको भए पनि भारतीय रीतिरिवाज तथा अन्य कुरा चिनियाँ भूगोलमा उपयुक्त नहुँदा हिन्दू धर्म विस्तार हुन सकेन । तर स्थानीय वातावरण अनुसार फैलने स्वतन्त्रता भएकै कारण बौद्ध धर्म सम्पूर्ण भारतको भन्दा विस्तृत भूक्षेत्र भएको चीनमा फैलियो ।

लामो समयदेखि सभ्यता र संस्कृतिले निरन्तरता पाउँदै आएका थोरै भूक्षेत्र मध्ये काठमाडौं उपत्यका पनि हो, जहाँ विविधता र विशिष्टता स्वाभाविक रूपमा पाइन्छ । बौद्ध दर्शनको क्षेत्रमा देखिएका ‘महासांघिक’ लगायतका सम्प्रदायहरू काठमाडौं उपत्यकामा पनि पाइन्छन् ।

परम्परागत बौद्ध धर्म भनेर यहाँ वज्रयानी बौद्ध धर्मलाई अगाडि सारिन्छ । अन्यत्रको वज्रयानीमा भन्दा केही थप विशेषता यहाँ छ । यही विशेषतालाई ध्यानमा राखेर त्यसलाई ‘नेपाली बौद्ध धर्म’ भनी चिनाउन सकिन्छ ।

यसको आधार ‘स्वयम्भू महाचैत्य’ लाई लिन सकिन्छ, जसले धर्म, दर्शन, कला र संंस्कृति लगायतका कुरामा विशिष्टता प्रस्तुत गर्दछ । पुरोहित (वज्राचार्य) र जजमान दुवै नेवार भएकै कारण यसलाई नेवार बौद्ध धर्म भनेको हो भने यसले सीमित अर्थ दिन्छ र विस्तारको संभावनालाई रोक्ने खतरा पनि उत्तिकै रहन्छ ।

उत्तरी नेपाल (हिमाली क्षेत्र) मा प्रचलित बौद्ध धर्म वज्रयानी नै भए पनि यसले तिब्बती बौद्ध धर्मको पहिचान बोक्दछ । ‘थेरवादी’ बौद्ध सम्प्रदायले नेपालमा पछिल्लो दशकमा जरा गाडे पनि यो नेपालीकरण नभई मुख्य रूपमा श्रीलङ्कन, थाई र म्यानमारको संस्कार संस्कृति अनुसार चलेको छ । यसक्रममा जापान, कोरिया लगायतका देशले आजभोलि बौद्ध धर्मसम्बद्ध संघसंस्थाहरू स्थापना गर्न थालेका छन् ।

नेपालको छुट्टै पहिचान दिने हैसियत राख्ने काठमाडौं उपत्यकामा प्रचलित वज्रयानी बौद्ध धर्मलाई ‘नेपाली बौद्ध धर्म’ का रूपमा प्रचारप्रसार गर्न ढिला भइसकेको छ ।

त्रिभुवन विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयमा यसको अध्यापन ‘नेपालमण्डलको बौद्ध धर्म’ विषयका रूपमा हुँदै आए पनि कतिपय प्राध्यापकहरू यो विषय हटाउनुपर्ने वा ‘क्रेडिट आवर’ छोट्याउनुपर्ने विचार औपचारिक रूपमा प्रकट गर्दछन् । यसलाई नेवार समुदायसँग मात्रै जोडेर हेर्नु वा त्यसरी व्यवहार गर्नु संकुचित दृष्टिकोण हो ।

प्रतिकृया दिनुहोस