कश्मीर प्रकरणमा भूमिका खेल्न नेपाललाई पाकिस्तानको आग्रह
पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीले नेपाललाई कश्मीर प्रकरणबारे भूमिका खेल्न आग्रह गरेको बताएका छन् ।
पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाललाई सार्क राष्ट्रको अध्यक्ष भएकाले भूमिका खेल्न आग्रह गरेको जनाएको छ । विदेश मन्त्री कुरैशीले नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई जम्मु–कश्मीरको वर्तमान अवस्थाबारे जानकारी गराएको समेत विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “परराष्ट्रमन्त्रीले नेपाली समकक्षीलाई जम्मू–कश्मीरको विवादास्पद स्थितिलाई फेर्न भारतले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको प्रस्तावहरूको विपरीत गरेको गैरकानुनी र एकपक्षीय कार्यहरूका बारेमा जानकारी दिए ।”
पाकिस्तानी विदेशमन्त्री कुरैशीले कश्मीरबारे भारतको कदमले यो क्षेत्रकै शान्ति र सुरक्षामा गम्भीर खतरा निम्त्याउने जनाएका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले भने कश्मीर प्रकरणलाई नजिकबाट नियालिरहेको प्रतिक्रिया दिएका छन् ।
तर, यो भन्दा थप धारणा र आग्रह नेपाल सरकारले गरेको छैन ।