समाचारशुक्रबार, ६ भाद्र , २०७६

कृषि र मजदुरी गर्नेमा पनि मधुमेह र उच्च रक्तचाप !

कमल रिमाल

पसिना चुहाउँदै कृषि र मजदुरी गर्ने ग्रामीण भेगका मानिसमा पनि उच्च रक्तचाप र मधुमेहको समस्या देखिएको छ ।

मोरङको जहदा गाउँपालिका–४ मा शुक्रबार गरिएको स्वास्थ्य शिविरमा उच्च रक्तचाप र मधुमेहका बिरामी पाइएको हो ।

जहदा–४ मा गरिएको स्वास्थ्य परीक्षणमा उच्च रक्तचाप भन्दा मधुमेहका बिरामी दोब्बर संख्यामा पाइएको छ ।

लाइन्स र लियो क्लब विराटनगर ग्लोबल तथा वडा कार्यालयले गरेको शिविरमा स्वास्थ्य परीक्षण गरिएका २ सयजना सर्वसाधारणमध्ये ५५ जनामा मधुमेहको समस्या पाइएको थियो भने २४ जनामा रक्तचापको समस्या पाइएको हो ।

परीक्षणपछि मधुमेह बढी र घटी तथा रक्तचाप पनि बढी र घटी भएका बिरामीलाई शिविरमा औषधि दिइएको छ ।

स्वास्थ्य परीक्षणमा संलग्न विराट नर्सिङ होममा कार्यरत डा. रत्नजंग शाहले सन्तुलित भोजनको अभावले मधुमेहको समस्या हुने बताए ।

“पाचन प्रक्रिया अनुकूलको खाना नखाएमा सुगरको समस्या हुन्छ”, उनले भने । जहदा–४ का वडाध्यक्ष जयनरथकृष्ण गिरीले खेतमा दैनिक पसिना चुहाएर काम गर्ने किसानमा पनि मधुमेहको समस्या देखिनुले गाउँलेमा चिन्ता बढेको बताए ।

दैनिक श्रम गर्नेहरूमा यति धेरैको संख्यामा मधुमेह र रक्तचाप सन्तुलित नभएको आपूmले हालसम्म नपाएको नेकपाका प्रदेश १ सदस्य मृत्युञ्जय झा बताउँछन् ।

ठूलो संख्यामा गाउँलेमा समस्या देखिएकाले नियमिति परीक्षण र औषधिको व्यवस्थाका लागि गाउँपालिकाले पहल गर्ने वडा अध्यक्ष गिरीको भनाइ छ।

शिविरमा स्थानीयको रक्तचाप र मधुमेह परीक्षण गर्दै स्वास्थ्यकर्मी । तस्वीरः कमल रिमाल



 

प्रतिकृया दिनुहोस