थप समाचारशुक्रबार, ६ भाद्र , २०७६

मन्दिरमा भागदौड हुँदा चारजनाको मृत्यु, कैयौं घाइते

रासस

पूर्वी भारतीय राज्य पश्चिम बंगालको एक मन्दिरमा रहेका तीर्थालुहरूको शुक्रबार भएको भागदौडमा परी चारजनाको ज्यान गएको बताइएको छ ।

सो भागदौडमा परी अरु कैयौँ व्यक्ति घाइते भएका छन् । शुक्रबार कृष्णाष्टमीको अवसरमा पूजाआजा गर्न गएका हिन्दू तीर्थालुहरूबीच सो भागदौड भएको बताइएको छ ।

उत्तरी पारागन जिल्लामा रहेको भगवान श्रीकृष्णको मन्दिर ‘काछु’ मन्दिरमा भएको भागदौडमा ती व्यक्तिको ज्यान गएको समाचारमा जनाइएको छ।

उक्त मन्दिर परिसरमा रहेको पर्खाल अकस्मात भत्किएपछि पूजा आराधनाका लागि ठूलो संख्यामा उपस्थित ती तीर्थालुबीच भागदौड मच्चिएको थियो ।

उक्त दुर्घटनामा परी घाइते भएकाहरूलाई नजिकैको अस्पताल पुर्‍याइएको छ । घाइते के कतिजना छन् भन्ने बारेमा पूर्ण विवरण आएको छैन ।

कृष्णाष्टमी पर्व हिन्दू धर्मावलम्बीहरूले भगवान श्रीकृष्णको जन्म दिनको रुपमा उनको पूजा आराधना गरी भव्य रूपमा मनाउने गर्दछन् ।

भारतमा हिन्दू धर्मावलम्बीहरू विभिन्न तीर्थस्थलमा भीड लाग्ने र भागदौडबाट कैयौँको ज्यान जाने गरेका समाचारहरू आउने गर्दछन् ।

प्रतिकृया दिनुहोस