कम्युनिष्ट राजा महाराजाजस्तो बने जनताले लखेट्छन्ः अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले जनताको चाहना पूरा गर्न नसके प्राप्त उपलब्धि गुम्ने बताएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले कम्युनिष्ट नेताहरुले जनताको भाषा बोल्न छोडेपछि सत्ता पनि नटिक्ने बताए ।
“सोभियत संघलगायत मुलुकमा कम्युनिष्ट सत्ता ढल्नुको कारण कम्युनिष्ट नेताहरु विकृत भएर नै हो”, अध्यक्ष दाहालले भने, “सत्तामा गएपछि विकृत बन्ने भएपछि एउटा गोली पनि नचलाई सत्ता उल्टाइदिने गरेको उदाहरण छ ।”
अध्यक्ष दाहालले कम्युनिष्ट नेताहरु राजा महाराजाजस्तो हुँदै गएपछि जनताले लखेट्ने समेत बताए । उनले पार्टीभित्र अनुशासन विस्तारै खस्कँदै गएको चिन्ता व्यक्त गरे ।
“हिजो हामी निकै अनुशासित थियौँ, आत्म अनुशासनबाट मात्र हामी अहिलेको अवस्थामा आइपुगेका हौं”, उनले भने, “आज अनुशासनको स्तर गिरेर जसलाई जे मन लाग्यो बोल्ने, सामूहिक हितलाई बेवास्ता गर्ने प्रवृत्ति बढेको छ । यसलाई परिवर्तन गर्नुपर्छ ।”
विगतमा सामूहिक निर्णय, व्यक्तिगत जिम्मेवारीका साथ कम्युनिष्ट पार्टी चल्दै आएको उल्लेख गर्दै अध्यक्ष दाहालले भने, “आजकल त्यो उल्टिएको छ । व्यक्तिगत निर्णयको जिम्मेवारी सबैले लिनुपर्ने । यो निकै उल्टो भएको छ । यो प्रवृत्तिलाई सच्याउने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा आएको छ ।”