बरिष्ठ सहसचिवहरुलाई प्रदेश मन्त्रालयमा खटाइयो
सरकारले बरिष्ठ सहसचिवहरुलाई प्रदेश मन्त्रालयको सचिवमा खटाएको छ । बिहीबार नियमित पत्रकार सम्मेलनबाट सूचना तथा सञ्चार मन्त्री गोकुल बासकोटाले बरिष्ठ सहसचिवलाई प्रदेश खटाइने जानकारी दिएका थिए ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले सातै प्रदेशका ४९ मन्त्रालयमा बरिष्ठतम सहसचिवलाई खटाएको हो ।
स्रोतका अनुसार बरिष्ठ भएर पनि केही सहसचिव भने प्रदेशमा खटिएका छैनन् । अर्थ मन्त्री डा. युवराज खतिवडाको रोजाइमा परेपछि बरिष्ठ सहसचिव रामशरण पुडाशैनी र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टकोे रोजाइमा परेपछि रामप्रसाद घिमिरे सिंहदरबारबाट बाहिरिनेको सूचिमा परेनन् ।
आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपाल र भन्सार विभागका महानिर्देशक रामेश्वर दंगाल प्रदेश अर्थ सरुवा भएका छन् ।
अर्थ मन्त्रालय अन्तर्गतको कर्मचारी तालिम केन्द्रमा कार्यरत दामेदर रेग्मी, पर्यटन मन्त्रालयमा कार्यरत भरत सुवेदी पनि प्रदेश मन्त्रालयमा सरुवा भएका छन् ।
कनिष्ठ सहसचिवलाई प्रदेश मन्त्रालयको सचिव बनाएको भन्दै प्रदेश सरकारले आलोचना गर्दै आएका थिए । हाल अधिकांश प्रदेश मनत्रालयको सचिव कनिष्ठ सहसचिव रहेका छन् ।
सरकारले एक वर्षलाई प्रदेश सचिवमा बरिष्ठ सहसचिव पठाए पनि पदेशको प्रमुख सचिव भने संघीय सरकारको कनिष्ट सचिव रहेका छन् ।
सोमबार सचिवमा बढुवा भएका तोयम रायलाई तीन नम्बर प्रदेशको प्रमुख सचिवमा पदस्थापना गरिएको छ । कर्णाली प्रदेशको सचिव केवल भण्डारी, १ नम्बर प्रदेशको सचिव सुरेश अधिकारी पनि कनिष्ठ सचिव हुन् ।