सभापति देउवाले अगुवा कार्यकर्तालाई फेरि झुक्याए
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह तथा निर्वाचन क्षेत्र स्तरीय संगठनको नेतृत्व चयन निर्वाचन प्रक्रियाबाटै हुने आश्वासन अगुवा कार्यकर्तालाई दिएका थिए ।
३२ साउनमा पोखरामा सम्पन्न गण्डकी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमा सभापति देउवाले कांग्रेसमा निर्वाचनको विकल्प नरहेको प्रतिबद्धता जनाएका थिए । प्रशिक्षण कार्यक्रमा सहभागी गण्डकी प्रदेशका अगुवा कार्यकर्ताले गोला तानेर नेता चुन्ने प्रणालीको तीव्र विरोध जनाएका थिए ।
महाधिवेशन प्रतिनिधिहरुकै विरोध भएपछि सभापति देउवाले गोला तानेर नेतृत्व चयन गरिने भन्ने कुरा मिडियामा आएको हल्ला मात्रै भनेका थिए । सभापति देउवाले गोला तानेर नभई कांग्रेस कार्यकर्ताहरुको मतबाट सभापति चयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
तर, कांग्रेस मुख्यालय सानेपाले बिहीबार जारी गरेको अन्तरिम व्यवस्था निर्देशिका–२०७६ मा गोला तानेर सभापति चयन गर्ने प्रावधान हटेको छैन । वरिष्ठता र क्रियाशील सदस्यता पनि बराबर भए गाेला तानेर सभापति चयन गरिने प्रावधान प्रस्टसँग उल्लेख गरिएकाे छ ।