चीनको ‘सुपर पावर’ सपनाको अग्रभागमा ब्राजिलियन स्ट्राइकर
फुटबलमा पनि ‘सुपर पावर’ बन्ने उद्देश्य लिएको चीन यसपटक नै विश्वकप खेल्ने सपना बुनिरहेको छ ।
सन् २०५० भित्रै फुटबल दुनियाँको ‘सुपर पावर’ बन्ने योजनाका साथ अगाडि बढिरहेको चीन यसपटक ब्राजिलियन स्ट्राइकर एल्केसनले त्यो सपनाको थालनि गर्नेमा पूरापुर विश्वस्त छ । एल्केसनले पनि चीनले देखेको सपना यसपटकको विश्वकपबाटै उद्घाटन गर्ने चाहना व्यक्त गरेका छन् ।
६ वर्षदेखि चीनका लागि खेलिरहेका एल्केसनले अहिलेसम्म एक सय भन्दा बढी गोल गरिसकेका छन् । उनी चिनियाँ टीमबाट खेल्ने पहिलो गैरचिनियाँ हुन् ।
तिनै एल्केसनले यसपटक चीनका लागि विश्वकप छनोट खेल्नेछन् । फिफाको नियमअनुसार राष्ट्रिय टीममा खेल्न उक्त देशमा पाँच वर्ष बसेको हुनुपर्छ । एल्केसन सन् २०१३ देखि चीनमा खेलिरहेका छन् ।
राष्ट्रपति सी जिङपिङले अबको १५/२० वर्षभित्रै विश्वकप जित्ने उद्घोष गरिसकेकाले राम्राे देशका राम्राे खेलाडी भित्र्याउने योजना पनि अगाडि बढाइएको छ । त्यसैअनुसार, एल्केसनले यसपटक चिनियाँ टीमको अग्रभागमा रहेर खेल्ने अवसर पाएका छन् ।
एल्केसनको पहिलो खेल आगामी ४ सेटेम्बरबाट शुरू हुनेछ । विश्वकप २०२२ को छनोट खेलमा चीनको पहिलो प्रतिश्पर्धा माल्दिभ्ससँग हुँदैछ । एल्केसनले पहिलो खेलबाटै चीनले विश्वकप खेल्छ भन्ने देखाउने बताएका छन् ।
उसो त चीनले विदेशी खेलाडी राष्ट्रिय टीमबाट खेलाउने मात्रै होइन । फुटबलका लागि देशभित्रकै जनशक्ति र पूर्वाधारमा ठूलो लगानी गरिरहेको छ । अबको २० वर्ष पछाडि सुपर पावर बन्न अहिलेबाटै बालबालिका तथा युवालाई फुटवल मैदानमा उतारेको छ ।
चिनियाँ फुटबल एसोसियनका अनुसार चीनमा अहिले पाँच करोड बालबालिका तथा युवाले फुटवल खेल्छन् । उनीहरुका लागि २० हजार तालिम केन्द्र र ७० हजार मैदान बन्दैछन् । सन् २००२ को विश्वकपमा पुगेपनि गोलको खाता समेत नखोली फर्केपछि चिनियाँ फुटवल अगाडि बढ्न सकेको छैन ।
तर, यसपटक २०२२ को विश्वकप र २०२३ को एसियाकप खेल्न बलियो तयारी गर्दैछ । चीन अहिले पनि फिफा बरियतामा ७१औं स्थानमा छ ।