रेणु दाहालको विज्ञप्ति– अस्वाभाविक मृत्युमा रवि लामिछानेमाथि अनुसन्धान राज्यको दायित्व
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा भइरहेको अनुसन्धान प्रक्रियामाथि उत्पन्न असहज परिस्थितिबारे गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् ।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मेयर दाहालले अनुसन्धान प्रक्रियामा आफू र राज्यका उच्च पदस्थ व्यक्तिमाथि मनगढन्ते आरोप लगाइएकोमा पनि आपत्ति जनाएकी छन् ।
उनले सामाजिक सञ्जाल र सडकमा देखिएका अस्वाभाविक, प्रायोजित र अनर्गल प्रचारको पछाडि नलाग्न पनि आग्रह गरेकी छन् ।
विज्ञप्तिमा दाहालले कसैको अस्वाभाविक मृत्युको अनुसन्धान गर्नु राज्यको दायित्व भएको उल्लेख गरेकी छन् ।
टेलिभिजन प्रस्तोता रवि लामिछानेको नाम उल्लेख गरेकी छैनन् । तर, मेयर दाहालले अनुसन्धानका क्रममा रहेका व्यक्तिहरुलाई लिएर आफ्नो नाम जोडिएकोमा आपत्ति जनाएकी छन् ।