मुलुकमा संवैधानिक एवम् राजनीतिक रिक्तताको खतराः ओली
एमाले अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी ओलीले मुलुकमा संवैधानिक एवम् राजनीतिक रिक्तताको खतरा आउन सक्ने बताएका छन् ।
आज, २६ साउनमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित अन्तरसम्बाद कार्यक्रममा बोल्दै ओलीले वर्तमान सरकारले तोकिएको मितिमा निर्वाचन नगराएर मुलुकलाई राजनीतिक र संवैधानिक रिक्तताको स्थितिमा पुर्याउन खोजेको आरोप लगाए ।
स्थानीय निकायको चुनाव मंसिरमा नगर्ने वर्तमान सरकारको निर्णयभित्र प्रदेश सभाको चुनाव पनि नगर्ने नियत रहेको उनको भनाई छ ।
"मुलुकमा राजनीतिक र संवैधानिक रिक्तता आउने गरी अहिले सम्झौता भएका छन्," ओलीले भने, "विगतमा पनि प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउनुपर्ने अवस्था निम्त्याइएको थियो। फेरि त्यस्तै खेल दोहोर्याउने प्रयास भइरहेको छ ।"
कांग्रेस, माओवादी र मधेशी मोर्चाबीच भएको सहमतिले मुलुकमा संवैधानिक र राजनीतिक रिक्तता उत्पन्न हुने उनले दाबी गरे ।
"बाटोबाटो माग्दैमा संविधान संशोधन हुँदैन"
उनले कांग्रेस, माओवादी र मधेशी मोर्चाबीच भएको सम्झौता एमालेले अनुमोदन नगर्ने बताए।
"कसैले बाटो–बाटोमा संशोधन माग्दैमा संविधान संशोधन हुँदैन," ओलीले भने, "संविधानको संशोधन औचित्यको आधारमा हुन्छ । यो जस्ले मागे पनि जहिले पनि गरिने कुरा होइन ।"
उनले आफ्नो दल पूर्वाग्रही नभएको र प्रधानमन्त्री निर्वाचनमा कसले कसलाई भोट हाल्यो भन्ने आधारमा नभई औचित्यका आधारमा मात्रै संविधान संशोधन हुने बताए । औचित्य र आधार पुष्टि भएमा भने एमाले वाधक नबन्ने ओलीको भनाई थियो ।
"वर्तमान सरकार रिमोटबाट"
उनले वर्तमान सरकार ‘रिमोट’बाट चलेको भन्दै थपे, "वर्तमान सरकार कहाँबाट बनेको भन्ने सिग्नल नै आइसकेपछि रिमोटको के अर्थ ? रिमोट कहाँबाट चल्छ भन्ने हामीलाई थाहा छ भने टिभी च्यानल किन फेरियो भनेर हामीले इस्यू बनाउँदैनौं ।"
मुलुक विकासको दिशामा अघि बढ्न थालेपछि केही शक्तिले त्यसलाई देख्ननसकी सरकार परिवर्तन गराएको ओलीले दाबी गरे । भने “विकासमा योजना बनाएर कार्यान्वयनको तहमा अघि बढिरहेको सरकारलाई ढालेर अर्को सरकार बनाउनु भनेको मुलुकविरुद्ध षड्यन्त्र गर्नु हो ।”