६ दिनदेखि मुगु सदरमुकाम अन्धकार
–अच्युत राज भण्डारी, मुगु
मुगुकाे गमगाढ साना जलविद्युत आयोजनाको मूलमा रहेको इन्टेक बाढीले बगाएर पूर्णरूपमा क्षति पुर्याएपछि ६ दिनदेखि सदरमुकाम गमगढी लगायत आसपासका बस्तीहरू अन्धकार भएका छन् ।
गत शनिबार दिउँसो एक्कासि परेको भारी वर्षाका कारण गमगाढ खोला बढेर आएको बाढीले जलविद्युतको इन्टेक बगाएपछि बत्तीको लाइन गएको हो ।
बाढीले इन्टेक बगाउनुका साथै क्यानलमा पानी प्रवेश हुने मुख्य गेट समेत भाँचिएर क्षतविच्छेद अवस्थामा छ ।
शनिबार दिउँसोदेखि बत्तीको लाइन गएसँगै सदरमुकाममा रहेका सरकारी तथा गैरसरकारी कार्यालयका दैनिक कामकाज समेत ठप्प छन् ।
खोलामा पानीको बहाव नघटेपछि इन्टेकको क्षतिको अवस्था बारे अझै राम्रोसँग हेर्न समेत नपाएको गमगाढ साना जलविद्युत कार्यालयका अधिकारीले जनाएका छन् ।
नोक्सानी हेरेर बाहिरबाट प्राविधिक समेत बोलाउनुपर्ने अवस्था हुन सक्ने गमगाढ साना जलविद्युत कार्यालयका प्रमुख शिवप्रसाद पाण्डेले बताए । खोलाको पानी घटेपछि मात्रै बगाएको इन्टेक र इन्टेक गेट बनाउन कति समय लाग्ने भन्ने बारे एकिन हुने उनले बताए ।
“इन्टेक निर्माणमा गरिएको ढलानको अवस्था पूर्ण क्षति भएको भए टेन्डर प्रक्रिया अगाडि बढाउनुपर्ने हुन सक्छ”, उनले भने, “यो अवस्था आए बत्ती सुचारु हुन दुई महीना सम्म लाग्न सक्छ ।’
इन्टेक भत्काएको ६ दिन बितिसक्दा समेत यसको अवस्था के छ भनेर एकिन समेत हुन नसक्दा अनिश्चित कालका लागि सदरमुकाम अन्धकार भएको छ ।
बत्तीकै कारण सदरमुकाममा रहेका कम्प्युटर पसल, मोबाइल पसल, फोटोकपी पसल समेत धमाधम बन्द गर्नु पर्ने अवस्था आएको छ । सामान्य १ प्रति फोटोकपी गर्दा रु ५ पर्नेमा यतिबेला रु २० सम्म पर्न थालेको छ । मोबाइल चार्ज गरेको ५०, ल्यापटप चार्ज एक सय, र प्रिन्ट गरेको रु ५० सम्म पर्न थालेको छ ।
गमगढी लगायत आसपासका बस्तीमा बत्ती बाहेक वैकल्पिक उज्यालोको कुनै व्यवस्था नहुँदा यो समयमा स्थानीय मैनबत्ती र दियालो बाल्न बाध्य छन् ।
बत्ती आउने कुनै निश्चित नभएपछि जङ्गल गएर झर्रो दियालोको जुगाडतिर लागेको छायानाथ रारा नगरपालिका– २ तुमगाउँका स्थानीय बुद्धि तिरुवाले बताए ।
स्वास्थ्य सेवा प्रभावित
बत्ती नहुँदा जिल्ला अस्पताल मुगुमा आएका बिरामीलाई उपचार गर्न समेत समस्या भएको छ ।
बत्तीकै कारण अस्पतालमा हुने साधा एक्सरे, भिडियो एक्सरे, सुत्केरी सेवा, नियोनेटल कियरका सेवासमेत प्रभावित भएका छन् ।
अस्पतालमा उपचार गराउन आउने आकस्मिक तथा सामान्य सबैखाले बिरामीलाई सेवा दिन समस्या भएको जिल्ला अस्पताल मुगुका निमित्त प्रमुख डा.डबलबहादुर मल्लले जानकारी गराए ।
रातिको समयमा आउने आकस्मिक बिरामी विशेष गरेर सुत्केरी हुन आउने महिलालाई उपचारमा थप समस्या भएको उनले बताए । सुत्केरी हुन नसकेर सीएस अप्रेशन गर्नपर्ने गर्भवतीका लागि झनै जटिल समस्या हुन सक्ने उनको भनाइ छ ।
सामान्य तथा जटिल बिरामीका लागि प्रयोगशालामा गरिने रगत, दिसा, पिसाब, खकार, हेमोग्लोबिन, रगत समूह लगायत परीक्षण हुन नसक्दा बिरामीको रोग निदानमा समेत समस्या भएको डाक्टर मल्लको भनाइ छ । यसले बिरामीको सही उपचार समेत हुन नसक्ने चिकित्सकहरू बताउँछन् ।
जिल्ला अस्पतालमा मात्रै नभई आसपासका स्वास्थ्य संस्थाका बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने आमाहरूको लागि झनै समस्या भएको स्वास्थ्यकर्मीको भनाइ छ ।
स्वास्थ्य संस्था मात्रै होइन, अन्य सरकारी तथा गैरसरकारी कार्यालयका कामकाज समेत प्रभावित भएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा केही समयका लागि सोलार सिष्टम र जेनेरेटरबाट नागरिकता, राहदानी लगायत सामान्य काम भइरहेको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी गराए । छोटो समयका लागि काम चले पनि लामो समयसम्म बत्ती नहुँदा सबै सेवा प्रभावित हुन सक्ने उनले बताए ।
जिल्लाका अन्य कार्यालय मालपोत, नापी, राजस्वका काम, ब्याङ्किङ सेवाका कामकाज नेट इन्टरनेट सेवामा समेत समस्या भएकाले जलविद्युत कार्यालयमा तत्काल विद्युत सेवा सुचारु गराउने काम अघि बढाउन पहल गरिनुका साथै निर्देशन समेत गरिएको प्रजिअको भनाइ छ ।
शनिबारकै बाढीले छायाँनाथ रारा नगरपालिकाका विभिन्न बस्तीमा रहेका १० वटा काठेपुल, ७ वटा पानीघट्ट सयौं रोपनी धान रोपिएका खेत बगाएर बगरमा परिणत भएको स्थानीयको भनाइ छ । बाढीबाटै करीब २ हजार २ सय घरपरिवार प्रभावित भएका छन् ।
बत्ती बन्द भएकै कारण सदरमुकाममा रहेका विभिन्न बीमा कम्पनीका शाखामा हुने दैनिक कामकाज समेत ठप्प भएका छन् ।
आफ्नो कार्यालयबाट मात्रै दैनिक १५ देखि २० जनासम्म जीवन बीमा गर्न आउने सेवाग्राही फर्किने गरेको एशियन लाइफ मुगु शाखाका प्रमुख अंख बुढाले बताए । बत्ती नहुँदा दिनानुदिन बीमा गर्न आउने सर्वसाधारण खाली हात फर्काउन बाध्य भएको उनको भनाइ छ ।