आईकाओका अध्यक्ष पुगे एयरक्राफ्ट म्यूजियम
अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) का अध्यक्ष ओलुमुइवा बेनार्ड अलीउले सिनामंगलस्थित एयरक्राफ्ट म्यूजियमको अवलोकन गरेका छन् ।
काठमाडौंमा आयोजना भइरहेको एसिया र प्यासिफिक क्षेत्रका देशका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकहरुको सम्मलेनमा भाग लिन काठमाडौं आएका उनले एयरबस ३३० विमानमा बनाइएको म्यूजियम अवलोकन गरेका हुन् ।
अलिउले म्यूजियम विद्यार्थीलाई उड्डयन क्षेत्रको जानकारी दिन महत्वपूर्ण स्थल हुने बताए । संसारभर उड्डयन क्षेत्रमा दक्ष जनशक्तिको अभाव भइरहेको भन्दै अलिउले नयाँ पुस्तालाई उड्डयन क्षेत्रको जानकारी दिनु पर्नेमा जोड दिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको आयोजनामा २ भदाैबाट सम्मेलन शुरु भएको थियो । सम्मेलनमा सहभागी हुन आएका ४४ देशका करीब ४०० प्रतिनिधि म्यूजियम पुगेका हुन् ।
सन् २०१६ मा वेद उप्रेती ट्रष्ट र नेपाल नागरिक उड्डयन प्राधिकरणको सहकार्यमा म्यूजियम स्थापना गरिएको थियो । सन् २०१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा टर्किस एयरलाइन्सको एयरबस ३३० विमान दुर्घटनामा परेपछि उक्त विमानमा म्यूजियम बनाइएको हो ।