प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान
प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरस्थित न्यासनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षणका लागि बिहीबार दिउँसो त्यसतर्फ प्रस्थान गरेका छन् ।
प्रधानमन्त्रीका साथमा पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिब्यासिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत सहभागी छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्रीलाई बिदाइ गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललगायत पुगेका थिए ।
सिंगापुरबाट स्वास्थ्य परीक्षण गरी प्रधानमन्त्री २७ साउनमा मात्रै स्वदेश फर्किएका थिए । प्रधानमन्त्री ओलीकाे स्वस्थ्यबारे उनका निजी चिकित्सक डा.शाहले विज्ञप्ति प्रकाशित गरेका थिए ।
विज्ञप्तिमा उल्लेख छ, “मिर्गाैलासम्बन्धी एण्टिवडीको मात्रा बढी देखिन पुगेको थियो । एण्टिवडीलाई शरीरबाट निष्काशन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन उहाँ त्यसतर्फ जान लाग्नुभएको हो । सिंगापुरमा रहँदा न्यासनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञ टोलीले उहाँको मिर्गाैलाको थप परीक्षण र क्षमताको अभिवृद्धिका लागि आवश्यक उपचार हुनेछ ।”