सचिवहरुको सरुवाप्रति सांसदहरुको आपत्ति
राष्ट्रियसभाका सांसदहरुले कार्यसम्पादन मूल्यांकन भन्दा पनि सरकारले राजनीतिक आस्थाका आधारमा कर्मचारी सरुवा गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा सांसदहरुले सचिवहरुको सरुवाप्रति समेत आपत्ति जनाएका छन् । सांसद राधेश्याम अधिकारीले करीब एक महीनाअगाडि एक वर्षका लागि प्रधानमन्त्रीले मन्त्रीहरुसँग र मन्त्रीहरुले सचिवहरुसँग कार्यसम्पादन सम्झौता गरेको मसी सुक्न नपाउँदै १६ जना सचिवको सरुवा गरिएको भन्दै विरोध जनाए ।
उनले भने, “एक महीना नहुँदै १६ जना सचिवको यसैबीचमा सरुवा भएको सुन्नमा आएको छ, यतिबेला एउटा प्रश्न उठेको छ, एक वर्षमा गर्नुपर्ने काम ती सचिवहरुले एक महीनामै सकेका हुन् वा एक महीनाभित्रै आफू असक्षम भएको प्रमाणित गरेका हुन् ।”
स्थायी सरकारका रुपमा रहेको प्रशासन संयन्त्रलाई अस्थिर बनाउँदा सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन लगायतका कार्यक्रममा नकारात्मक असर पर्ने सांसद अधिकारीको भनाइ थियो ।