शुरुमै प्रतिनिधिसभाको निर्वाचन सम्भव छैनः देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय र प्रदेशको निर्वाचन अघि नै प्रतिनिधिसभाको निर्वाचन सम्भव नभएको बताएका छन् ।
नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले नेकपा एमालेले प्रस्ताव गरे झैँ शुरुमै प्रतिनिधिसभाको निर्वाचन व्यावहारिक नभएको बताएका हुन् ।
तीन दलका बीचमा शुरुमा स्थानीय निकायको निर्वाचन गर्ने विषयमा सहमति भइसकेको भन्दै सभापति देउवाले क्रमशः प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बताए । मधेशकेन्द्रित दलहरु संविधान संशोधन नभई निर्वाचन गर्न हुन्न भनिरहेका छन् नि भन्ने प्रश्नको जवाफमा उनले संविधान संशोधन गर्न सत्तारुढ दलहरु तयार भएकाले जसले अवरोध गरेको छ उनीहरुलाई भन्न आग्रह गरे ।
संसद्को अवरोध हटाएर संविधान संशोधन प्रस्ताव पारित गराई निर्वाचनतिर जाने सत्तारुढ दलहरुको योजना रहेकामा विपक्षीका अवरोधका कारण बीचको बाटो खोजिएको उनको भनाइ थियो । विसं २०७४ माघभित्र कुनै पनि हालतमा तीनवटै तहको निर्वाचन नभए मुलुकमा संवैधानिक सङ्कट आउने हुँदा दलीय सहमति जुटाएर निर्वाचन प्रक्रियामा जानुपर्ने सभापति देउवाको धारणा छ ।
संविधान संशोधन प्रस्ताव तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमतिअनुसार नै पेस गरिएको देउवाको भनाइ थियो । सत्तारुढ दलहरुले कुनै पनि कुरा लादेर नभएर सहमतिमा जान खोजेको भन्दै उनले सबै सकारात्मक भएमात्र संविधान कार्यान्वयन हुने र मुलुकले निकास पाउने बताए । रासस