टिप्पणीबुधबार, ४ भाद्र , २०७६

जङ्गबहादुरलाई चिनियाँ बादशाहको जवाफ ‘सैन्य सहयोग चाहिन्न’

हिमालखबर

प्रधानमन्त्री जङ्गबहादुर कुँवरले सैन्य सहयोग गर्ने भनी पठाएको अर्जीपत्रको जवाफमा चिनियाँ बादशाहले ‘टाढाबाट आउँदा ठूलो दुःख हुने’ भन्दै इन्कार गरिदिए। 

नेपाल दरबारको वि.सं. १८९४ देखि १९०३ सम्मको अवधि आन्तरिक कलह, खिचातानी र काटमारकै स्थितिमा गुज्रियो । यसवेला नेपाल–भोट सम्बन्ध पनि बिग्रियो ।

नेपाल र भोटको सम्बन्ध मुख्यतः बेपारमै सीमित थियो । भोटबाट नून, सुन, ऊन र ऊनबाट बनेका राडीपाखी लगायत वस्तु आयात हुन्थे ।यताबाट विशेषगरी खाद्य पदार्थ निर्यात हुन्थ्यो । बेपारकै विषयमा मतभेद भएर सम्बन्ध बिग्रिन्थ्यो ।

यसै वेला अफिमको व्यापारमा कुरा नमिल्दा चीन र ब्रिटिशबीच ठूलो युद्ध चल्यो । जुन अफिम युद्धको नामले चर्चित छ । यसमा चीनले केही बन्दरगाह गुमायो । केही क्षेत्रमा ब्रिटिशको बेपार चल्न थाल्यो । चीनमा आन्तरिक कलह पनि चर्कियो, जसलाई ताइपिङ विद्रोह भनिन्छ ।

प्रधानमन्त्री जङ्गबहादुर कुँवर राणाका पालामा सौगात लिएर वि.सं. १९०४ मा गएको र त्यसको पाँच वर्षपछि गएको अर्को प्रतिनिधिमण्डल पनि जस्ताको तस्तै फर्कन सकेन ।

ताइपिङ विद्रोहका कारण चीनतर्फको कुनकाम (वासस्थान) मा खानपिन र बासको राम्रो व्यवस्था नहुँदा कति प्रतिनिधिमण्डलका सदस्य नाइके बाटोमै बिते । बल्लतल्ल बचेर आउनेले सौगात र प्रवाना श्री ५ समक्ष टक्र्याएका थिए ।

यस्तो वेला भोटले नेपाली बेपारीलाई निकै पेल्न थालेको थियो । सीमा बेपारमा पनि नूनमा महँगो भाउ लिने, लिंदा ठूलो र दिंदा सानो फुरु (काठको मानो) प्रयोग गर्ने हुँदा नेपाली ढाक्रे ठगिन्थे ।

जङ्गबहादुरले जनप्रिय हुन भोटका शासक र बेपारीले नेपालीलाई दुःख दिएका विषय उधिनेर भोटसँगका ३२ अर्घेल्याइँ उल्लेख गरेका थिए । ती अर्घेल्याइँमा भोटमा नेपाली नेवार महाजनका कोठीहरू खम्पाहरूले लुट्ने, नेपालीलाई भोटेले हेप्ने गरेको लगायत विषय थिए ।

भोटका यस्ता अर्घेल्याइँ आकलन गरी जङ्गबहादुरले सोझैं भोटमा आक्रमण गरौं भने कथं पहिले जस्तै चीनका बादशाहले नेपाल विरुद्ध भोटलाई सहायता गर्लान् भनेर चलाखी अपनाए । उनले श्री ५ मार्फत ‘बादशाहलाई दुःख दिन केही दुष्टले विद्रोह मच्चाइरहेको र यो हेरेर बस्न नसक्ने भएकाले विद्रोह दबाउन दश हजार सशस्त्र सैनिक पठाउन लागेको’ आशय सहितको अर्जीपत्र पहिल्यै पठाएका थिए ।

पत्रमा आफूहरूसँग जीउज्यान दिन सक्ने जनबल भए पनि धन भने कम भएकाले सैनिकका लागि आवश्यक रसदपानी र लुगा बादशाहबाट निगाह हुनुपर्ने उल्लेख थियो ।

हरेक पाँच वर्षमा प्रतिनिधिमण्डलले लैजाने अर्जीपत्र मात्र चिनियाँ बादशाहकोमा पुग्थ्यो, अरू वेला पठाएका अर्जीपत्र बाटैमा तुहिन्थे । किनकि ल्हासामा बस्ने चिनियाँ अम्बाले बादशाहलाई अनावश्यक झ्जिो गर्न हुन्न भनेर अर्जीपत्र बीचैमा रोकिदिन्थे ।

त्यही भएर जङ्गबहादुरले चीनको विद्रोह दबाउन सैन्य सहयोग गर्ने इच्छा जाहेर गरेर पठाइएको अर्जीपत्र बादशाहसम्म पुर्‍याउन अम्बालाई सम्झइरहन्थे । अम्बाले पनि बादशाहलाई परेको असहज परिस्थितिमा श्री ५ बाट सहायता दिन पठाइएको अर्जीपत्र रोक्न नहुने सोचेर अर्जीपत्र पठाइसकेको उत्तर दिएका थिए । पत्र पठाए पनि बादशाहको तर्फबाट भने कुनै प्रतिक्रिया आएको थिएन ।

तिहार लगत्तै वि.सं. १९११ कात्तिकमा श्री ५ को तर्फबाट ल्हासाका टुन्तारिन अम्बालाई फेरि लामो पत्र पठाइयो । सहायताका लागि गत वर्षदेखि नै फौज तयार पारिराखे पनि उताबाट जवाफ नआएको सो पत्र मार्फत स्मरण गराइएको थियो । श्री ५ ले पुर्खादेखि नै बादशाहलाई मानिआएको उल्लेख गर्दै बादशाहलाई सहयोगका लागि तयारी गरिरहँदा भोटले भने नेपालले चढाइँ गर्नेभो भनी युद्धका लागि तम्तयार भएर नेपाली बेपारीहरूलाई सास्ती दिएको फेहरिस्त पत्रमा प्रस्तुत गरिएको थियो ।

पत्रमा चीन सरकारले दुवै पक्षलाई राखेर पक्का बन्दोबस्त गरिदिनुपर्ने, भोटले कोठीका बेपारीहरूको चित्त बुझइदिनुपर्ने र जेसुकै गर भन्ने हो भने परे अनुसार व्यहोर्ने उल्लेख गरिएको थियो ।

यसपछि भने अम्बाले बादशाहबाट जवाफ आएको दुई महीनापछि श्री ५ मा खबर पठाए । अम्बा मार्फत आएको जवाफमा बादशाहलाई मानेकोमा खुशी प्रकट गरिएको थियो । साना देशका राजा भए पनि बादशाहलाई साथ दिन सैनिक सहित आएर वैरीलाई भष्म पार्ने कुरा लेखिएको भन्दै पत्रमा त्यो साहसको तारिफ गरिएको थियो ।

ठूलो देशमा विद्रोह उठ्नु भनेको ठूलो घरको निदालमा मुसो उफ्रे जस्तै हो, बाहिर देशबाट मद्दत लिने दस्तुर छैन भनेर सैन्य सहयोग आवश्यक नरहेको पनि जानकारी गराइएको थियो । टाढादेखि आउँदा ठूलो दुःख हुने स्मरण पनि गराइएको थियो । चीनमा उपद्रो गर्नेहरू चिनियाँ सिपाहीहरूले औंला देखाउनासाथै भाग्ने बादशाहको उत्तरमा लेखिएको थियो ।

पहिले अर्जी सौगात चढाउन आउँदा चिनियाँ विद्रोहका कारण खाने–बस्ने असुविधा भएर नेपाली टोलीका कतिपय सदस्य बेस्याहारले मरेको प्रसङ्ग जोड्दै अझ् फौज नै पठाउँदा कति हैरानी होला भनेर सम्झइएको थियो, “मायाले मद्दतको फौज पठाउनु पर्दैन भनेको हो ।”

सिमानाका राजासँग मिलीजुली बस्नू भन्ने बादशाहको आदेश आएपछि जङ्गबहादुरले मेरो मद्दत नलिने बादशाहले भोटलाई मद्दत दिन त्यति टाढाबाट फौज पठाउने छैनन् भन्ने नै बुझे ।

चिनियाँ अम्बाले श्री ५ लाई जाहेर गरेको बादशाहको उत्तर

ल्हासाका टुंतारिन अम्बाबाट गोर्खा सर्कारलाई आयाको यो साल ६ महिना ११ दिन जाँदामा श्री ५ बादशाहबाट उत्तर आइपुग्यो. गोर्खा वाङले चह्रायाका अर्जीमा सिपाहि खटाई सिपाहि सँगै जाई वैरीको भस्म गरौंला भनि लेखियाको रहेछ. गोहार दि भस्म गर्नु पर्दैन. साना मुलुकका राजा भै जो दाना हुनाले मनसुवा गरि मान्न गर्‍याको बढिया हो तर चीन देशमा सानु मुसाले निदालमा उफ्र्या जस्तो मात्रै हो. अघिदेखि बाहिरिया देशका मानिसले गुहार गर्न आउन्या दस्तुर छैन. टाढादेखि आउँदामा दुःख पर्ला चीन देशमा उपद्रव गर्ने कुल्याहाहरूलाई चिनका सिपाईले पहिल्यै औंलो मात्र देखाउँदा चाँडै भस्म गर्न सकन्या छन्, तिमिले चह्रायाको अर्जिको नकल ञाहा स्याहार गरि जतनले राखिएको छ भनि हुकुम भै आयो. यो अर्जिको वेहोरा र अघि अघिका अर्जिका वेहोरा येकै होइन. नभयापनि अघिदेखि बादशाहका सरणपिछा परिरख्याको हुनाले बहुतै खुसी भयाको छु. सौगात चह्राउन आउन्या भारदार पगरि चाकर बाकरहरू बाटामा पानी नमिल्दा र २ पटकमा धेरै मर्न गया. येस्मा ता सुखसित हिँड्छन् र पनि मर्छन्. सौगात चह्राउन जान्या र लस्कर जान्यालाई सुख दुःख कति फेर हुन्छ. तेसकारणले माया गर्‍याको हो. आफु वाङका साधका राजाले थिचोमिचो गर्‍यो दौलथ फौज पठाईदिनुहवस् भनि अघिका ताठिनका पालामा लेखिआउँदा रितमा नमिल्ने हुँदा यो काम पनि भारा लीयेर वादसाहका अर्ति सिक्षा मेहेर समझ् िअघिदेखिको रित मांनुपर्छ. सिवानाका राजासँग मिलीजुली रहनु.

हाङफोङ ४ साल ८ मैन्हा ११ दिन जाँदा.

प्रतिकृया दिनुहोस