दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन हुँदै
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र रातो बङ्गला फाउन्डेसनको संयुक्त आयोजनामा दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन हुने भएको छ ।
सम्मेलन ७, ८ र ९ भदौमा हुँदैछ । यसअघि सन् २०१३ मा पहिलो सम्मेलन भएको थियो । पूर्व प्राथमिक तहका कक्षाहरु देखि नै गुणस्तरीय शिक्षा उपलब्ध गराई संयुक्त राष्ट्र संघको दीगो विकासको लक्ष्य–४ मा रहेको गुणस्तरीय शिक्षा र नेपालमा विद्यालय क्षेत्र सुधार योजना अन्तर्गत काम गर्ने लक्ष्यसहित सम्मेलन आयोजना गर्न लागिएको हो ।
नेपालले सन् २०३० भित्र मध्यम आय भएको देशबाट माथि उठ्ने लक्ष्य राखेको छ ।
सम्मेलन बारे जानकारी दिन ४ भदौमा आयोजित पत्रकार सम्मेलनमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले गुणस्तरी शिक्षासँग सम्बन्धित कार्यक्रम संञ्चालन गर्न फाउन्डेसन र मन्त्रालयबीच समझदारि(एमओयु) भएको र एमओयूको लक्ष्य अनुसार सम्मेलन आयोजना गर्न लागिएको बताए ।
पौडेलले भने, “बाल केन्द्रित सिकाइको सुनिश्चितता गरेमा दीर्घकालीन र सार्थक सिकाई हुने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागेका हाँै ।” उनले सार्वजनिक शिक्षाको रुपान्तरणका लागि सम्मेलन कोसेढुङ्गे हुने बताए ।
रातो बङ्गला फाउन्डेसनका अध्यक्ष शान्ता दीक्षितले गुणस्तरीय शिक्षाका लागि अन्तर्राष्ट्रिय स्तरमा भएका अभ्यासहरुबारे सम्मेलनमार्फत छलफल गरिने बताइन् । दीक्षितले भनिन्, “गुणस्तरीय शिक्षाका लागि नेपाल सुहाउँदो सिक्षण र सिकाई विधिबारे सम्मेलनमार्फत् छलफल हुनेछ ।”
उनले तीन दिनसम्म चल्ने अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलनमार्फत् निकालिएको निचोडलाई प्रदेश स्तरका विद्यालयहरुसम्म पु-याइने बताइन् । उक्त सम्मेलनमा ६० वटा वर्कसप र झण्डै ८० वटा विषयमा कार्यपत्र प्रसुति रहनेछन् ।
आयोजकका अनुसार ५० जिल्लाका ३०० जना सामुदायिक विद्यालयका शिक्षक सहभागी हुने सम्मेलनमा अमेरिका, बाङ्लादेश, भारत, चीन र सिंगापुरबाट नौ जना व्यक्तिको सहभागिता रहने छ ।
शिक्षासहित विभिन्न क्षेत्रका कुल झण्डै सात सय जनाको सहभागिता रहने उक्त सम्मेलनलाई दूरसंञ्चार सेवा प्रदायक कम्पनि एनसेलले सहयोग गरेको छ ।