जयशंकरले नाकाबन्दीबारे नेपाल भ्रमणमा 'पश्चाताप' गर्नुपर्छः मेहता
भारतीय विदेशमन्त्री एस जयशंकर बुधबार नेपाल आउँदैछन् । नरेन्द्र मोदी दोस्रो पटकका लागि प्रधानमन्त्री निर्वाचित भएपछि नेपाल आउने जयशंकर बरिष्ठ व्यक्ति हुन् ।
जयशंकर नेपालसँग परिचित नाम हुन् । उनी विदेश सचिव हुँदा नेपालको संविधान–२०७२ जारी भएको थियो । जुन संविधान रोक्न उनी नेपाल आएका थिए । विशेष दूत बनेर आएका जयशंकरले नेपालको संविधान रोक्न दबाव दिएका थिए ।
तर, नेपाली नेताहरुले नमान्दै संविधान जारी भयो । नेपालले लामो समय नाकाबन्दीको सामना गर्नुपरेको थियो । तिनै जयशंकरको नेपाल भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ ।
भारतीय सेनाबाट अवकाशप्राप्त मेजर जनरल अशोक मेहता नेपालमा भारतविरोधी भावना बढ्नुमा जयशंकर पनि जिम्मेवार रहेको बताउँछन् । मेहताले बीबीसीसँग भनेका छन्, “त्यसैले भारत–नेपालको विशेष सम्बन्धलाई अझै उचाइमा पु-याउन अहिलेको भ्रमणमा उनले आफ्नो विगत बिर्साउने गरी विश्वसनीयता कायम गर्न सक्नुपर्छ ।”
त्यसका लागि काठमाडौंमा कुनै बौद्धिक वा प्राज्ञिक मञ्चबाट ‘पश्चाताप गर्नु’ हितकर हुने मेहताको बुझाइ छ ।
मेहता भारत पहिलेजस्तो अन्य देशमाथि हस्तक्षेप गर्ने अवस्थामा नरहेको बताउँछन् ।