कश्मीर प्रकरणबारे काठमाडौंमा प्रदर्शन
कश्मीर विषयलाई लिएर भारत र पाकिस्तानबीच बढ्दो तनाव कम गर्न माग गर्दै काठमाडौंमा अधिकारकर्मीहरूले प्रदर्शन गरेका छन् ।
भारतीय दूतावास र पाकिस्तानी दूतावास बाहिर गरिएको प्रदर्शनमा पूर्व गोर्खा सैनिकका आफन्तहरूको समेत सहभागिता रहेको थियो ।
कश्मीरमा भएको तनावले नेपालीलाई पनि प्रभावित पारेको र त्यहाँ रहेका हजारौं नेपाली त्रासमा बाँच्नुपरेको उनीहरूको भनाइ थियो ।
भारत–पाकिस्तानले वार्ताबाट समाधान निकाल्नु उचित हुने उनीहरूको भनाइ थियो । यो क्षेत्रमा शान्ति कायम हुनुपर्ने यसका लागि दुवै देशमाथि दबाब आवश्यक भएको उनीहरूले बताए । प्रदर्शनमा मानव अधिकारकर्मी कृष्ण पहाडी पनि सहभागी थिए ।
पहाडीले परमाणु अस्त्रसम्पन्न पाकिस्तान र भारतबीच द्वन्द्व भए विश्व शान्तिमा असर पुर्याउने भएकाले दुवै देशलाई वार्तामा बस्न आह्वान गरे ।
उनले सार्कलाई सक्रिय बनाइराख्न पनि आग्रह गरेका थिए । प्रदर्शन कुनै देशका विरुद्ध नभई शान्तिका लागि भएको पनि पहाडीले बताए ।
मानव अधिकार तथा शान्ति समाजले धर्नाको अन्त्यमा दुवै देशका प्रधानमन्त्रीहरूलाई लेखिएको पत्र दूतावासका अधिकारीहरूलाई बुझाएको थियो ।
दुई देशबीच तनाव चुलिँदै गएमा दक्षिण एशियाको शान्ति भङ्ग हुने भएकाले सीमा क्षेत्रमा तनाव कम गर्न पत्रमार्फत आग्रह गरिएको बताइएकाे छ।