रिपोर्टमंगलबार, ३ भाद्र , २०७६

पुस्तौ पिराेल्ने विद्युतीय फाेहाेर

गोपाल गडतौला

विद्युतीय फोहोरको सुरक्षित व्यवस्थापन गर्ने नीतिको अभावमा जथाभावी फालिंदा वातावरण र मानव स्वास्थ्यमाथि जोखिम बढेको छ।

कम्प्युटर, टीभी, फ्रिज, बल्ब, ट्यूबलाइट, ब्याट्री, मोबाइल, तार, बच्चाका खेलौना लगायत बिजुलीबाट चल्ने उपकरण र वस्तु बिग्रिएपछि फोहोरमा परिणत हुन्छ । यस्ता विद्युतीय फोहोर पछिल्लो समय समस्या बनिरहँदा यसको उचित व्यवस्थापनमा स्थानीय सरकारहरूले ध्यान दिएका छैनन् । ठूलो जनघनत्व भएको काठमाडौं महानगरपालिकामा विद्युतीय फोहोरको समस्या अझ् चर्को छ ।

८ साउनको दिउँसो टेकूस्थित महानगरपालिकाको फोहोर संकलन केन्द्रका सफाइ कर्मचारी कुमार थामी (४५) तारको गुजुल्टो मिलाइरहेका थिए । उनका अनुसार, महानगर क्षेत्रबाट संकलन हुने विभिन्न विद्युतीय फोहोरसँगै हरेक महीना तार मात्रै एक ट्रक जम्मा हुने गरेको छ ।

उपत्यकामा नेपाल टेलिकम, केबुल टेलिभिजन व्यवसायी र इन्टरनेट सेवा प्रदायकहरूले बिजुलीका पोलमा टाँगेका तार कैयौं ठाउँमा चुँडिएर लत्रेको देखिन्छ । महानगरपालिकाका सफाइ कर्मचारीहरूले ती तार संकलन गरी टेकूस्थित फोहोर संकलन केन्द्रमा पुर्‍याउँछन् । ट्रक भरिने तार जम्मा भएपछि नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल्ड साइटमा लगेर गाडिन्छ ।

त्यस बाहेकका विद्युतीय फोहोर भने अन्य फोहोरसँगै खुला रूपमा विसर्जन गरिन्छ । यसरी जथाभावी फालिने विद्युतीय फोहोरमा हुने हानिकारक तत्वले पर्यावरणमा मात्र होइन, मानव स्वास्थ्यमा पनि घातक असर पार्ने जानकारहरू बताउँछन् । तर समस्याको गाम्भीर्य अनुसार महानगरपालिकाले यस्ता फोहोर नियन्त्रण र व्यवस्थापन गर्न योजना नै बनाएको छैन ।

काठमाडौं महानगरपालिकाको वातावरण विभाग अन्तर्गतको फोहोर व्यवस्थापन महाशाखाकी प्रमुख सरस्वती पोखरेल विद्युतीय फोहोर जथाभावी फाल्दा असर हुन्छ भनेर थाहा भए पनि व्यवस्थापनको विकल्प नसोचेको बताउँछिन् । “विद्युतीय फोहोरलाई वातावरणमा असर नपर्ने गरी तह लगाउने योजना हामीसँग छैन”, उनी भन्छिन् । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल भने विद्युतीय फोहोरको व्यवस्थापनबारे नीति बनाउनुपर्छ भन्ने चेत अहिलेसम्म नआएको र अब त्यतातिर लाग्ने बताउँछन् । डंगोल भन्छन्, “यसबारे आउँदो नगरसभाको बैठकमा कुरा उठाउनेछु ।”

विद्युतीय फोहोर नकुहिने भएकाले जमीनमुनि गाड्दा आउँदो कैयौं पुस्ताका लागि फोहोर जम्मा हुन्छ । यस्तै, जलाउँदा हावा प्रदूषित हुने भएकाले स्वास्थ्यका लागि प्रतिकूल मानिन्छ ।

हामीकहाँ पछिल्लो दशकमा विद्युतीय उपकरणको प्रयोग बढ्दो क्रममा छ । भन्सार विभागका अनुसार गएको आर्थिक वर्ष २०७५/७६ को ११ महीनामा देशभित्र रु.३ खर्ब ३१ करोड ५४ लाख ८० हजारको विद्युतीय सामग्री भित्रिएको थियो । हरेक वर्ष १५ देखि २० प्रतिशत हाराहारीमा विद्युतीय सामग्रीको खपत बढिरहेको विभागका अधिकारीहरू बताउँछन् ।

विद्युतीय सामग्री भित्रिने क्रम बढेसँगै यस सम्बन्धी फोहोर टाउको दुखाइको विषय बनिरहेको छ । बिग्रेका उपकरणमध्ये केहीलाई पुनः प्रयोग र वैकल्पिक प्रयोजनमा उपयोग गर्न सकिने संभावना भए पनि अधिकांश वस्तु फोहोरकै रूपमा जम्मा हुने गरेको छ । परम्परागत व्यवस्थापन विधि, वातावरण र मानव स्वास्थ्यका लागि जोखिमयुक्त भएकाले यस सम्बन्धी छुट्टै कार्यविधि आवश्यक देखिएको छ । तर विद्युतीय फोहोरबारे अध्ययन र व्यवस्थापनमा संघीय सरकारदेखि स्थानीय सरकारसम्मले उपेक्षा गरेका छन् ।

भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशी तार लगायतका विद्युतीय फोहोर व्यवस्थापनबारे थाहा नभएकै कारण नीति बनाउन नसकेको स्वीकार्छिन् । “आउँदो वर्षदेखि विद्युतीय फोहोर तह लगाउने विशेष योजना शुरू गर्छौं”, उनी भन्छिन् ।

फोहोरको मुख्य स्रोत घर

वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले उपत्यकामा दुई वर्षअघि विद्युतीय फोहोर बारे अध्ययन गरेको थियो । उपभोक्ताले मोबाइल फोन लगायतका विद्युतीय उपकरण छिटो फेर्ने र सस्तो दामका कमसल सामान किन्ने प्रवृत्तिका कारण विद्युतीय फोहोरको समस्या बढेको उक्त अध्ययनको निष्कर्ष थियो । अध्ययनबाट सर्वसाधारणले हरेक दुई वर्षमा मोबाइल फोन फेर्ने गरेको, चार वर्षमा ल्यापटप, आठ वर्षमा टेलिभिजन र १० वर्षमा रेफ्रिजेरेटर तथा वासिङ मेशिन बदल्ने गरेको थाहा भएको थियो ।

बजारमा नयाँ विशेषताका विद्युतीय सामग्री आउनासाथ किनेर पुरानो फाल्ने र सस्तोमा किनिएका कमसल सामान छिट्टै बिग्रिने भएकाले विद्युतीय फोहोरको मात्रा बढेको काठमाडौं महानगरपालिकाको वातावरण विभागका सूचना अधिकारी शंकर पौडेल बताउँछन् । “उपभोक्ताले खरीद गरेका विद्युतीय सामग्री ७६ प्रतिशत खपत भइरहेको र २४ प्रतिशत प्रयोगविना घरमा राख्नु पनि यस्ता फोहोर बढ्नुको अर्को कारण हो”, उनी भन्छन् ।

सन् २०१७ मा विभागले गरेको अध्ययन अनुसार उपत्यकामा मात्र वार्षिक १७ हजार ७३० टन विद्युतीय फोहोर उत्पादन हुने गरेको छ । उपत्यकाभित्रका विद्युतीय सामग्री बिक्रेता, मर्मत केन्द्र, कवाडी पसलहरूका साथै ३९६ वटा घरमा गरिएको अध्ययनबाट हरेक वर्ष घरहरूबाट निस्किने विद्युतीय फोहोर मात्रै १५ हजार ८५७ टन देखिएको थियो (हे. इन्फो) । घरबाट निस्किने विद्युतीय फोहोरमा सीआरटी मनिटर र सीआरटी टीभीको हिस्सा सबैभन्दा बढी छ ।

संयुक्त राष्ट्रसंघको विश्व वातावरण कार्यक्रमका अनुसार विश्वमा वार्षिक पाँच करोड टन विद्युतीय फोहोर उत्पादन हुने गरेको छ, र यो दर हरेक वर्ष ३ देखि ५ प्रतिशतले बढिरहेको छ । संयुक्त राष्ट्रसंघीय विश्वविद्यालयले तीन वटा अन्तर्राष्ट्रिय संघसंस्थासँगको सहकार्यमा तथ्यांक संकलन गरी सन् २०१७ मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार हरेक एशियालीले औसतमा वार्षिक ४.२ किलो विद्युतीय फोहोर उत्पादन गर्छन्  ।

यस्तै, नर्वेका नागरिकले सबैभन्दा बढी औसतमा २९ किलो विद्युतीय फोहोर उत्पादन गर्छन् भने बेलायत र डेनमार्कका नागरिकले २५/२५ किलो र अमेरिकीले १९.४ किलो उत्पादन गरिरहेका हुन्छन् ।

नेपालले घातक फोहोर व्यवस्थापन सम्बन्धी वासेल महासन्धिमा हस्ताक्षर गरेको छ । तर फोहोरको संकलन, ओसारपसार र पुनः प्रयोगको क्षेत्रमा कुनै योजना बनाएको छैन । वातावरण विभागका अधिकारीहरू विद्युतीय लगायतका घातक फोहोरको व्यवस्थापन सरकारको प्राथमिकतामै नरहेको बताउँछन् ।

विभागका एक अधिकारी भन्छन्, “राजनीतिक नेतृत्वले विद्युतीय फोहोर र यसका असर बुझ्ने प्रयास समेत गरेको छैन, यसै कारण यस क्षेत्रमा काम हुन नसकेको हो ।”

घातक रसायन र असर

सन् २०१५ मा काठमाडौं, नेपालगञ्ज र विराटनगरमा वातावरण वैज्ञानिक डा. रामचरित्र साह आफू समेत सहभागी भएर गरेको एक अनुसन्धानपछि झ्स्किए । अनुसन्धानको क्रममा बच्चाको खेलौना पजल टोय मा अक्टा–बीडीई (अक्टाब्रोमोडाइफिनाइल इथर) नामको रसायन पाइयो । डा. साह झ्स्किनुको कारण थियो, आफन्त र आफ्ना चिनेजानेका सबैजसोका घरमा भएका त्यस्ता खेलौना । आगोले समेत नजल्ने यो रसायनले स्नायु र श्वासप्रश्वास प्रणालीमा असर पार्ने भएकाले यसलाई नाङ्गो हातले छुनु घातक हुन्छ ।

त्यस्तै, बिजुलीका ट्रान्सफर्मरमा प्रयोग हुने पोलिक्लोरिनेटेड बाइफिनाइल्स अर्को घातक रसायन हो ।

कार्बन, हाइड्रोजन र क्लोरिनलाई रासायनिक प्रतिक्रिया गरेर बनाइएको यो रसायन बाक्लो र नबल्ने विद्युतीय कुचालक भएकोले ट्रान्सफर्मरमा प्रयोग हुन्छ । पुराना ट्रन्सफर्मर असुरक्षित रूपमा राख्दा यो रसायन चुहिएर जमीन र पानीमा जान सक्छ ।

मानव स्वास्थ्य र वातावरणको लागि हानिकारक मानिएर संयुक्त राष्ट्रसंघको ‘पप्स महासन्धि’ ले सन् २००४ मा सूचीकृत गरेका २२ प्रकारका रसायनमध्ये पोलिक्लोरिनेटेड बाइफिनाइल्स पनि पर्छ ।

सर्वसाधारणमा विद्युतीय फोहोरका असरबारे चेतना नहुँदा पनि थप जोखिम देखिन्छ ।

घरमा प्रयोग गरेका ट्यूबलाइट बल्न छोडे वा टुटफुट भए घरकै छेउ–कुनामा फ्याँक्ने गरिन्छ ।

त्यसरी जथाभावी फ्याँक्दा ट्यूबलाइटभित्रको मर्करी मानव सम्पर्कमा आउन सक्छ, जुन स्वास्थ्यको लागि घातक मानिन्छ ।

डा.साह विद्युतीय फोहोर र वातावरणीय स्वास्थ्यबारे चेतना फैलाउन नसक्नु अहिलेका तीनै तहका सरकारको कमजोरी भएको औंल्याउँछन् ।

विद्युतीय फोहोर डढाउँदा निस्किने धुवाँले स्नायु, प्रजनन् र श्वासप्रश्वास प्रणालीमा असर पुर्‍याउने मात्र होइन, क्यान्सरको कारक समेत बन्ने विज्ञहरू बताउँछन् ।

यस्ता फोहोर जमीनमा रह्यो भने पानी र माटो प्रदूषित बनाउँछन् भने डढाउँदा अत्यधिक कार्बन निस्कन्छ । त्यसैले विद्युतीय फोहोर कम उत्पादन गर्नमा जोड दिनुपर्ने डा.साह बताउँछन् ।

यसका लागि सरकारले विद्युतीय सामग्रीको गुणस्तर र मापदण्ड निर्धारण गर्नुपर्नेमा उनी जोड दिन्छन् ।

बजारमा कमसल र हानिकारक सामग्रीको पकड रहेको भन्दै उनी सुझाउँछन्, “टिकाउ र प्रयोगपछि फिर्ता लैजाने ग्यारेण्टी भएका विद्युतीय सामग्री खपत गरे यस्तो फोहोर स्वतः कम हुन्छ ।”

प्रतिकृया दिनुहोस