संसदमा रवि लामिछानेदेखि ज्योतिषसम्मका कुरा
भन्सार छलेर काठमाडौँ भित्रिएका राँगा, ज्योतिष पेशाका सञ्चालन अनुमतिपत्र र स्थानीय तहका लागि लोकसेवा आयोगले खोलेको विज्ञापनसम्बन्धी विषयले प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रवेश पाएको छ ।
बैठकको शून्य समयमा भाग लिँदै सांसद विरोध खतिवडाले भारतबाट लामो समयदेखि भन्सारमा नाका भएर राँगाभैँसी नेपाल नभित्रिए पनि काठमाडौँमा मम र छोयलाको अभाव नभएको देख्दा चोरी बाटो प्रयोग भएको हुन सक्नेप्रति सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, “वार्षिक रुपमा भारतबाट १० हजारको सङ्ख्यामा राँगा, भैँसी नेपाल भित्रिने गरेको छ, प्रतिराँगाभैँसी रु ८५६ राजश्व आउँथ्यो, त्यो गुमेको छ, त्यसतर्फ सरकारको ध्यान पुगोस् ।”
सांसद विमला विश्वकर्माले चिकित्सक, वकिल, इञ्जिनीयर जस्तै ज्योतिषी पेशा सञ्चालनका लागि अनुमतिपत्र अनिवार्य गर्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराइन् । उनले भनिन्, “ज्योतिष पेशा सञ्चालन गर्नेको ठूलो आर्थिक कमाइ भएको हुँदा उनीहरुलाई राज्यले करको दायराभित्र ल्याउन जरुरी छ, त्यसका लागि पहिले व्यवसाय सञ्चालन गर्न चाहनेका लागि अनुमति पत्रलाई अनिवार्य गर्न आवश्यक छ ।”
सांसद विना श्रेष्ठले अविरल वर्षाका कारण मुलुकका कयौँ भागमा पुल र कल्भर्ट बगाउँदा धेरै जनताले आवतजावत गर्न अप्ठ्यारो परिस्थितिको भोग्नुपरेकाले छिटो ती संरचना पुनःनिर्माण गर्न माग गरिन् ।
सांसद सानु सिवाले नेपाल भ्रमण वर्ष नजिक आइसक्दा समेत नेपालको ठूलो पर्यटनको सम्भावना बोकेको इलाममा विमानस्थल किन सञ्चालन नगरिएकोबारे प्रश्न गरिन् ।
सांसद हितबहादुर तामाङले पत्रकार पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानलाई अघि बढाउने क्रममा कानूनी राज्यको उपहास गर्ने ढंगबाट गैरसंवैधानिक नारा उठाएकाले त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए ।