रिपोर्टमंगलबार, ३ भाद्र , २०७६

स्नातक तहः देशभित्रै छ विदेशकाे विकल्प

रामु सापकोटा

 दक्ष जनशक्ति उत्पादन र उद्यमशीलता विकासका लागि उच्च शिक्षा मार्फत असीमित अवसरको ढोका खुलेको छ।

पर्यटन, होटल तथा रेस्टुरेन्ट, ब्याङ्किङ, यातायात, सञ्चार, निर्माण, कृषि लगायतका व्यवसाय चलायमान र बढोत्तरी भइरहेका क्षेत्रमा पर्छन् । यिनै क्षेत्रको सुधार र विस्तारका कारण गएको आर्थिक वर्ष २०७५/७६ मा ७.०५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल भएको प्रारम्भिक अनुमान अर्थ मन्त्रालयले गरेको छ । यी क्षेत्रमा उच्च विस्तारको सम्भावना आकलन गर्दै सरकारले चालु आर्थिक वर्षमा पनि ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ ।

देशैभरि पर्यटन, ब्याङ्किङ, कृषि, उद्योग, निर्माणका क्षेत्रमा बढ्दो व्यावसायिक लगानीले फैलिंदो अवसरको संभावना देखाउँछ । यसको अर्थ हो, उच्च शिक्षामा यी क्षेत्र सम्बद्ध विषय पढ्ने विद्यार्थीका लागि प्रशस्त अवसर खुल्दैछ ।

यी विषय सम्बन्धित स्नातक तहका कार्यक्रमहरू सञ्चालन हुने कलेजमा विद्यार्थीको बढ्दो आकर्षणले पनि त्यस्तो अवसर छोप्न तम्तयार समूह तयार हुँदै गरेको देखाउँछ ।

हस्पिटालिटीमा प्रशस्त अवसर
अहिले देशभर तारे र पर्यटकीय स्तर गरी एक हजार २५० भन्दा बढी होटल सञ्चालनमा छन् । काठमाडौं उपत्यका र उपत्यका बाहिर धमाधम नयाँ होटलहरू थपिंदै छन् । मेरिओट, ताज, अलफ्ट, हिल्टन, शेराटन, फेयरफिल्ड लगायतका अन्तर्राष्ट्रिय चेन ब्राण्डमा तारे होटल धमाधम खुलिरहेका छन् । यसले पर्यटन क्षेत्रमा उत्साह मात्र थपेको छैन, रोजगारीको ढोका पनि खोलेको छ । होटल म्यानेजमेन्ट, आईटी (सूचना–प्रविधि) लगायतका विषयको पढाइ पूरा गरेका विद्यार्थीले नै यी होटलमा काम पाउने हुन् ।

ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेसन (गेट) का विद्यार्थी ।

होटल एशोसिएसन अफ नेपाल (हान) का उपाध्यक्ष विनायक शाहका अनुसार, एउटा पाँचतारे होटल खुल्दा कम्तीमा २०० जनाले रोजगारी पाउँछन् । जसमा होटल म्यानेजमेन्ट, सूचना–प्रविधि र व्यवस्थापन पढेका विद्यार्थी रोजाइमा पर्छन् । होटल म्यानेजमेन्ट र पर्यटनको पढाइ हुने कलेज देशभरिमा  झण्डै ४० वटा छन् ।

यसैमध्येको काठमाडौं मण्डिखाटारको ग्लोबल एकेडेमी अफ टुरिजम् एण्ड हस्पिटालिटी एजुकेशन (गेट) ले शिक्षा, सीप, अवसर र रोजगारीमा प्राथमिकता दिंदै हस्पिटालिटीको क्षेत्रमा अब्बल जनशक्ति उत्पादन गर्दै आएको छ ।

गेट कलेजको गुणस्तरीयताको आधार व्यावहारिक शिक्षण विधि भएको कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) खेम लकाई बताउँछन् । कलेजले विद्यार्थीलाई २० प्रतिशत सैद्धान्तिक र ८० प्रतिशत प्रयोगात्मक शिक्षा दिंदै आएको छ । कलेजले होटल र रेस्टुरेन्ट व्यवस्थापनमा स्नातक तहको तीनवर्षे कोर्सका साथै कुलिनरी आर्टस्, बेकरी र कफी मेकिङको व्यावसायिक प्रशिक्षण पनि सञ्चालन गर्दै आएको छ ।

ज्ञानेश्वरको इन्टरनेशनल स्कूल अफ टुरिजम् एण्ड होटल म्योनजमेन्ट (आईएसटी) ले होटल तथा पर्यटन क्षेत्रमा माग भइरहेका जनशक्तिको आधारमा स्नातक तहमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कलेजकी प्राचार्य सम्झ्ना बस्न्यात युरोपका विश्वविद्यालयको स्तरको शिक्षा स्वदेशमै उपलब्ध गराएको बताउँछिन् । उनी भन्छिन्, “विद्यार्थीलाई कम शुल्कमा गुणस्तरीय शिक्षा दिने कार्यक्रम सञ्चालन गरिरहेका छौं ।”

स्वदेशमै अन्तर्राष्ट्रियस्तरको शिक्षा
कलेजहरूले गुणस्तरीय शिक्षाका लागि अन्तर्राष्ट्रिय बजारको माग अनुसार शिक्षण र सिकाइका शैली भित्र्याइरहेका छन् । जसले कलेजलाई प्रतिस्पर्धी बनाएको छ, विद्यार्थीको आकर्षण पनि बढेको छ । कलेज सञ्चालकहरू गुणस्तरीय पढाइमा जोड दिन थालेका कारण आकर्षण बढेको बताउँछन् ।

कलेजहरूले विद्यार्थीलाई पाठ्यक्रम बाहेकका क्षमता विकास लगायतका विषयमा पनि कक्षा सञ्चालन गर्न थालेका छन् ।

व्यवस्थापन विषय पढाइ हुने थापाथलीको एभरेष्ट कलेजले बजारको माग अनुसार विद्यार्थीलाई शैक्षिक ज्ञान दिइरहेको छ । कलेजले विद्यार्थीलाई स्नातक तह पूरा गरे लगत्तै ब्याङ्क तथा वित्तीय संस्था र अन्य निजी संस्थानहरूमा काम गर्न सक्ने बनाउन तालिम दिने गरेको छ ।

व्यवस्थापन पढेका विद्यार्थीका लागि चीनमा राम्रो अवसर रहेकाले कलेजले चिनियाँ भाषा पनि पढाउने गरेको प्रमुख कार्यकारी अधिकृत विष्णुहरि पाण्डे बताउँछन् । “विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयसँगको सहकार्यमा विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गरेका छौं” उनी भन्छन्, “गुणस्तरीय पढाइका कारण शतप्रतिशत नतिजा पनि निकालेका छौं ।”

लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका विद्यार्थी ।

पकनाजोलको एनसीसीएस–कलेज अफ आईटी एण्ड म्यानेजमेन्ट सूचना–प्रविधि व्यवस्थापन र होटल म्यानेजमेन्ट विषयको पढाइमा राम्रो नतिजा ल्याउन सफल कलेज हो । कलेजले प्रत्येक वर्ष त्रिभुवन विश्वविद्यालय (त्रिवि) ‘टपर’ विद्यार्थी उत्पादन गरिरहेको छ । कलेजले सैद्धान्तिक ज्ञानसँगै आईटी र होटल म्यानेजमेन्ट सम्बन्धी कार्यशाला आयोजना गरेर विद्यार्थीलाई व्यावहारिक रूपमा पोख्त बनाउने गरेको कलेजका प्रोग्राम डाइरेक्टर प्रज्ज्वल बानियाँ क्षेत्री बताउँछन् ।

कलेजले उत्पादित जनशक्तिलाई अन्तर्राष्ट्रिय बजारमा भाषाका कारण अप्ठेरो नहोस् भनेर होटल म्यानेजमेन्टका विद्यार्थीलाई चिनियाँ भाषा दुई वर्ष र आईटीका विद्यार्थीलाई जापानी भाषा डेढ वर्ष पढाउने पनि गरिएको छ ।

अन्तर्राष्ट्रियस्तरको शिक्षा दिन कतिपय कलेजहरूले विदेशबाट ‘फ्याकल्टी’ ल्याएर समेत कक्षा सञ्चालन गरिरहेका छन् । नयाँबानेश्वरको युनिग्लोब कलेजले व्यापार क्षेत्रमा भइरहेका राष्ट्रिय र अन्तर्राष्ट्रिय गतिविधिबारे विद्यार्थीलाई फाइनान्स ल्याब मार्फत जानकारी दिने व्यवस्था मिलाएको छ ।

कलेजका प्रोग्राम डाइरेक्टर अनन्तराज सुवेदी भविष्यमा व्यापार व्यवसाय गर्न चाहने विद्यार्थीलाई अब्बल बनाउन ‘बिजनेस इन्कुबेसन सेन्टर’ सञ्चालन गरिरहेको बताउँछन् ।

नेपाली विद्यार्थी उच्च शिक्षाका लागि विदेशिने दरलाई स्वदेशी कलेजको गुणस्तरीय शिक्षाले केही हदसम्म घटाएको मात्र छैन, कतिपयले त विदेशी विद्यार्थी पनि भिœयाउन सकेका छन् । गेट कलेजमा चीन, बाङ्लादेश, डेनमार्क, स्विट्जरल्याण्ड लगायत मुलुकका आठ विद्यार्थीले स्नातक तहमा होटल म्यानेजमेन्ट पढिरहेको कलेजका सीईओ लकाई बताउँछन् ।

डिल्लीबजारको द टाइम्स इन्टरनेशनल कलेजका प्राचार्य शंकरप्रसाद गैरे पनि विदेशका कलेजले पढाउने विषय स्वदेशभित्रै पढ्ने अवसर मिलाएको दाबी गर्छन् । कलेजको राम्रो पठनपाठनकै कारण जापान र अमेरिकाका विद्यार्थीले पनि अध्ययन गरिरहेको भन्दै गैरे थप्छन्, “आगामी शैक्षिक सत्रमा चीन, भारत, थाइल्याण्ड, इन्डोनेसिया लगायत मुलुकका विद्यार्थीले पनि भर्ना हुन रुचि देखाएका छन् ।”

त्यसो त, अवसरको खोजी गर्दै उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीलाई रोक्नु कलेजहरूका लागि अझै पनि चुनौतीकै विषय छ ।

बबरमहलस्थित नेपाल मेगा कलेजका निर्देशक मधुकर पाण्डे भने विदेशिने विद्यार्थीमध्ये अधिकांशको उद्देश्य पढ्ने भन्दा पनि काम गर्ने हुने गरेको टिप्पणी गर्छन् ।

विद्यार्थीलाई देशभित्रै उच्च शिक्षाका लागि प्रेरित गर्न सरकारले सेवामूलक उद्योग तथा संस्थानलाई थप प्रवद्र्धन गर्नुपर्नेमा उनी जोड दिन्छन् । “साथै, ती उद्योग संस्थानको माग अनुसार जनशक्ति उत्पादन गर्न कलेजहरूलाई पनि सघाउनुपर्छ”, उनी भन्छन् ।

आईएसटी कलेजका विद्यार्थी ।

कलेजहरूले विद्यार्थीलाई सम्बन्धित विषयको विशेषज्ञ बनाउन विशेष स्तरको पढाइ पनि सञ्चालन गरिरहेका छन् । मैतीदेवीको लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले बीबीएम (ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट) तहमा व्यवसायमा विशिष्टीकृत गर्ने कोर्स सञ्चालन गरिरहेको छ । यो कोर्स पढेका विद्यार्थी अनलाइन व्यवसायमा उद्यमशील बन्न सक्षम हुने कलेजका अध्यक्ष पंकज जलान बताउँछन् ।

कलेजले बीएस्सी आईटीमा क्लाउड कम्प्युटिङ र इन्टरनेट अफ थिङ्स र डेटाबेस म्यानेजमेन्टको विषय मार्फत टेलिकम लगायतका क्षेत्रमा योग्य जनशक्ति तयार पार्ने गरी पढाइरहेको छ । जलान भन्छन्, “१५/२० लाख खर्चेर विदेश जानुभन्दा विद्यार्थीले देशमै उचित शुल्कमा गुणस्तरीय शिक्षा र राम्रो कामको अवसर पाउँछन् ।”

व्यावहारिक सीपसँग गाँसिने भएकाले व्यवस्थापनमा उच्च शिक्षा हासिल गरेका विद्यार्थीले कामको लागि भौंतारिनु पर्दैन । काठमाडौंकी नीता थापाले गेट कलेजबाट सन् २०१० मा स्नातक तह पूरा गरेलगत्तै गोकर्ण फरेस्ट रिसोर्टमा फ्रन्ट अफिस एक्जिक्युटिभका रूपमा काम गरिन् ।

अहिले मेरिओट होटलमा सेल्सतर्फ एशोसिएट डाइरेक्टर रहेकी उनी कलेजले व्यावहारिक शिक्षालाई जोड दिएका कारण पढाइ पूरा गरे लगत्तै विद्यार्थीले काम पाउने गरेको बताउँछिन् ।

कलेजहरूले शिक्षामा समयानुकूल परिमार्जन गर्दै व्यावहारिक सिकाइमा जोड दिएका कारण विद्यार्थी दक्ष र आत्मनिर्भर हुने गरेका छन् । बौद्ध कुमारीगालस्थित अरुणिमा कलेजबाट बीबीएस गरेका बूढानीलकण्ठका जयराम ढुङ्गाना ६ वर्षदेखि जनता ब्याङ्कमा काम गरिरहेका छन् ।

जुनियर असिस्टेन्ट तहबाट काम थालेका उनी अहिले म्यानेजमेन्ट टे«नी पदमा कार्यरत छन् । उनी कलेजमा सिकेका व्यावहारिक ज्ञानले नै ब्याङ्कमा काम गर्न सक्ने बनाएको बताउँछन् ।

सिकाइकेन्द्रित शिक्षण
कलेजहरूले सिकाइकेन्द्रित शिक्षण मार्फत विद्यार्थीमा सीप र दक्षता वृद्धि गर्ने गरेका छन् । उनीहरूले विभिन्न निजी तथा सरकारी संस्थानका लागि योग्य जनशक्ति उत्पादन मात्र गरेका छैनन्, विद्यार्थीमा उद्यमशीलता विकास गराउने कार्यक्रम पनि सञ्चालन गरिरहेका छन् ।

भक्तपुर लोकन्थलीको समृद्धि कलेजले सूचना–प्रविधि र व्यवस्थापन विषयको पढाइ पूरा गरेका अब्बल विद्यार्थीलाई रु.१ लाख पुरस्कार सहित दुई वर्षसम्म उद्यमशीलताको निःशुल्क तालिम दिंदै आएको छ । “विद्यार्थीलाई आफैं उद्यम गर्न सक्ने बनाउन यो कार्यक्रम सञ्चालन गरेका हौं”, कलेजका ग्रुप सीईओ नरेशप्रसाद श्रेष्ठ भन्छन् ।

द टाइम्स इन्टरनेशनल कलेजका प्राचार्य गैरे पनि कलेजबाट व्यवस्थापनको अध्ययन पूरा गरेका विद्यार्थीले ब्याङ्क तथा वित्तीय संस्थामा काम गर्ने अवसर पाएको र कतिपयले आफ्नै उद्यम पनि शुरू गरेको बताउँछन् । “विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र थमाउने होइन, कसरी सीपयुक्त जनशक्ति उत्पादन गर्ने भन्नेमा कलेजको पढाइ केन्द्रित छ”, उनी भन्छन् ।

यही कलेजमा बीबीएस तेस्रो वर्षमा अध्ययन गरिरहेका बेला बाग्लुङकी पुष्पा घिमिरेले लोकसेवा आयोगबाट नाम निकालेर २०७४ सालदेखि आन्तरिक राजस्व कार्यालयमा नायब सुब्बा पदमा काम गर्न थालिन् । घिमिरे कलेजले सैद्धान्तिक ज्ञान र प्रयोगात्मक शिक्षासँगै व्यक्तित्व विकासमा जोड दिएका कारण पढ्दापढ्दै काम गर्न सकेको बताउँछिन् ।

अरुणिमा कलेजले पाठ्यक्रम बाहेक अध्ययन–अनुसन्धानका काममा सहभागी गराएर विद्यार्थीको सीप तिखार्ने गरेको छ । कलेजका प्राचार्य केशव जोशी वेलावेलामा विदेशबाट विशिष्ट वक्ता बोलाएर प्रवचन कार्यक्रम राख्ने गरेको बताउँदै भन्छन्, “हामी विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्रै खुम्च्याउँदैनौं, समाजमा घुलमिल गराउने कार्यक्रम पनि नियमित रूपमा सञ्चालन गर्छौं ।”

बागबजारको काठमाडौं मोडेल कलेजले विद्यार्थीको समग्र विकास गर्ने रणनीति बनाएर स्नातक तहको कार्यक्रम सञ्चालन गरिरहेको छ । कलेजका प्राचार्य सुरेन्द्र सुवेदी अनुसन्धान कार्यमा सहभागी गराएर विद्यार्थीको सीप र क्षमता विकास गराउँदै आएको बताउँछन् ।

 

कलेज सञ्चालकहरू सरकारबाट थोरै मात्र भरथेग हुने हो भने नेपाल उच्च शिक्षाको हब बन्न सक्ने देख्छन् । यसका लागि सरकारले स्नातक तहको पाठ्यक्रम परिमार्जन र पूर्वाधार विकासका लागि सहुलियतमा ऋण दिनुपर्नेमा उनीहरूको जोड छ । “अन्तर्राष्ट्रिय बजारको माग अनुसार उच्च शिक्षाको पाठ्यक्रम बनाउनेतर्फ नीतिनिर्माताहरू अग्रसर होउन्” एभरेष्ट कलेजका सीईओ विष्णुहरि पाण्डे भन्छन्, “हामी हातेमालो गर्न तयार छौं ।” 

प्रतिकृया दिनुहोस