सुमार्गीको ‘हेलो नेपाल’को लाइसेन्स खारेज
अजयराज सुमार्गीको स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक नेपाल स्याटेलाइटको अनुमति पत्र खारेज भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता तिर्न नसकेपछि अनुमति पत्र खारेज गरिदिएको हो ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आइतबार नेपाल स्याटेलाइटको अनुमति पत्र खारेज गर्ने निर्णय भएको जानकारी गराएका हुन् ।
उसले प्राधिकरणलाई करीब ८० करोड रुपैयाँ बक्यौता बुझाउन बाँकी छ । नेपाल स्याटेलाइटले ‘हेलो नेपाल’ बाट सेवा दिंदै आएको छ ।
ग्रामीण दूरसञ्चार सेवाको अनुमति पत्र पाएको नेपाल स्याटेलाइटले मध्यपश्चिमाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा सेवा पुर्याउने गरी २०६४ सालमा अनुमति पत्र पाएको थियो ।
साउन १८ गते बसेको प्राधिकरणको सञ्चालक समिति बैठकले नेपाल स्याटेलाइटलाई १५ दिनभित्र ७ करोड र बाँकी रकम ३ महीनाभित्र तिर्न म्याद दिएको थियो । तोकिएको म्यादमा पनि रकम बुझाउन नसकेपछि प्राधिकरणले अनुमति पत्र खारेज गरेको हो ।
अब हेल्लो नेपालले दूरसञ्चार ऐन २०५३ को दफा २८ को उपदफा ५ अनुसार ३५ दिनभित्र प्राधिकरणको निर्णयलाई आधार बनाएर नेपाल सरकारलाई पुनरवलोकनका लागि निवेदन दिन सक्छ ।
सरकारको क्याबिनेट बैठकबाट हेल्लो नेपालको लाइसेन्स खारेज नहुने निर्णय गरेमा प्राधिकरणको निर्णय कार्यान्वयन हुने छैन ।
तर, क्याबिनेट बैठकले लाइसेन्स खारेज नगर्ने निर्णय गरे पनि हेल्लो नेपालले फ्रिक्वेन्सी बापतको रु. ८० करोड रकम तिर्नै पर्ने हुन्छ ।