माधव नेपालको निष्कर्ष– ओलीले षडयन्त्र गरे, खनाललाई स्वीकार्छु
आइतबार साँझ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले विशेष कमिटी, सम्पर्क कमिटी र जनवर्गीय संगठनहरुको इन्चार्ज र सह–इन्चार्ज टुंगो लगाएको छ । शुक्रबार नै टुंगो लगाएको विभागीय जिम्मेवारीमा केही नयाँ व्यक्ति थप्ने निर्णय समेत भएको छ ।
आइतबारकै बैठकले नेकपाका नेताहरुको बरिष्ठतामा समेत हेरफेर गर्ने निर्णय गरेको छ । तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता गर्दा पूर्व प्रधानमन्त्री समेत रहेका माधवकुमार नेपाललाई दिइएको तेस्रो बरियतामा झलनाथ खनाललाई राख्ने निर्णय आइतबारको सचिवालय बैठकबाट भएको छ । यसबारे नेता नेपालले सार्वजनिक अभिव्यक्ति दिएका छैनन् ।
तर, शुक्रबारको बैठकमा झलनाथ खनालले तेस्रो बरियता मागेपछि नेता नेपाल आफू पछि हट्न तयार भएको उनी निकट एक नेताले बताए । “आइतबारको बैठकमा उहाँ आफैंले झलनाथ खनाललाई तेस्रो बरियता दिन तयार हुनुभएको हो । यसमा आपत्ति नै छैन”, ती नेताले भने ।
तत्कालीन एमालेमा नेता नेपाल भन्दा खनाल नै अगाडि थिए । तर, पार्टी एकताका क्रममा नेता नेपाललाई अगाडि ल्याउने निर्णय भयो । “माधव कमरेडले बरियता स्वीकार्नु भएको छ । झलनाथ खनाललाई मान्न तयार भएरै बैठकमा प्रस्ताव अगाडि बढाउनु भएको हो”, ती नेताले भने ।
‘ओलीले षड्यन्त्र गरे’
सोमबार बिहानै नेता नेपाल जनकपुर गएका छन् । पूर्व निर्धारित स्मृति सभाका लागि नेता नेपाल जनकपुर प्रस्थान गरेका हुन् ।
तर, यसअगाडि नै नेता नेपालले आफू निकट नेताहरूसँग आइतबारको सचिवालय बैठकबारे समीक्षा गरिसकेका छन् । समीक्षाका क्रममा नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले षड्यन्त्र गरेको निष्कर्ष निकालेका छन् । “जेएनलाई मनाउँछु भन्दै पहिले बरियता हेरफेर गरे, अहिले फेरि आफैंले बनाएको बरियता भत्काउनतिर लागे”, नेता नेपालले निकट नेताहरुसँग भने ।
बरियताबारे नेता नेपालले कुरा नउठाउने भएका छन् । तर, जनवर्गीय संगठनको इन्चार्ज तोक्ने निर्णयमा भने ‘नोट अफ डिसेन्ट’ लेख्ने भएका छन्।
युवा, विद्यार्थी, मजदुर, प्रेसलगायत केही जनवर्गीय संगठनको निर्णय प्रक्रियाबारे ‘नोट अफ डिसेन्ट’ लेख्ने तयारी नेता नेपालले गरेका छन् ।