ब्लगसोमबार, २ भाद्र , २०७६

‘उहिले बाजेका पालामा’

भैरव रिसाल

उहिलेका तीता, मीठा र अनौठा प्रसङ्ग खोतल्ने रेडियो कुराकानीले त्यो बेलाको सामाजिक व्यवहार, अर्थतन्त्र र विचित्रका चालचलन श्रोतासामु ल्याएको थियो।

नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले रेडियो सगरमाथाको प्रसारण शुरू गरेपछि के–कस्ता कार्यक्रम प्रसारण गर्ने भनेर विचार–विमर्श चल्यो । २०५५ सालताका म नेफेज मै काम गर्थें । ललितपुरको बखुण्डोलस्थित रेडियो सगरमाथाको कार्यालयमा एक दिन कनकमणि दीक्षित, विनोद भट्टराई, रघु मैनाली लगायतका बीचमा त्यस्तै विमर्श चल्यो ।

एउटा नयाँ कार्यक्रम चलाउने, जसबाट पाको पुस्ताको सम्मान होस् र उनीहरूका अनुभव पछिल्लो पुस्ताको लागि शिक्षाप्रद पनि होउन् भन्ने कुरा भयो । कार्यक्रमबाट ऐतिहासिक घटना–सन्दर्भको अभिलेख रहोस् भन्ने उद्देश्य पनि थियो ।

कुरैकुरामा यो काम मेरै काँधमा आयो । रेडियो सम्बन्धी रत्तिभर अनुभव छैन, कसरी चलाउने कार्यक्रम ! त्यसवेला ७० वर्षमा हिंडिरहेको थिएँ । अघिल्लो पुस्ताको मन–पेट छामेर तिनकै शैलीमा गफगाफ गर्नुपर्ने भएकाले जिम्मेवारी नस्वीकारी धरै पाइएन । कार्यक्रमको नाम राख्न घोटिएँ । अन्ततः कसले हो भन्यो– ‘उहिले बाजेका पालामा’ । आधा घण्टाको कार्यक्रम साप्ताहिक रूपमा प्रसारण गर्ने सल्लाह भयो ।

कुनै तालिम नै नलिएको मान्छेले रेडियो कार्यक्रम चलाउनु कम्ता चुनौती थिएन । धेरै साथीसँग सल्लाह मागें । पहिलो अतिथि बने, ९१ वर्षका सिद्धिगोपाल वैद्य । २९ भदौ २०५५ बाट कार्यक्रम प्रसारण हुन थाल्यो ।

पसिना छुटाउँदै कार्यक्रम

डर अन्त कतै हुँदैन, मान्छेको मनमै हुन्छ । त्यो पहिलो कार्यक्रममा कुराकानी गर्दै गर्दा स्टुडियोमा मेरो पसिना नै छुट्यो । बोली अकमकियो । त्यो क्रम त्यसपछिका अरू केही भागमा पनि दोहोरियो । विस्तारै आँट आयो ।

दक्षिणएशियाको पहिलो सामुदायिक रेडियो हो, रेडियो सगरमाथा । रेडियो प्रसारणका लागि अनुमतिपत्र लिनका लागि गरिएको कसरतको कथा छुट्टै छ । नेफेज ले लाइसेन्सका लागि दौडधुप गर्ने जिम्मा मलाई दिएको थियो । लाइसेन्स पाउनु अघि केही समय काठमाडौंको कालधारामा परीक्षण प्रसारणपछि रेडियोलाई ललितपुरको बखुण्डोलमा सारियो ।

गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा सञ्चारमन्त्री थिए, चिरञ्जीवी वाग्ले । उनले लाइसेन्स दिंदै दिएनन् । पछि राधाकृष्ण मैनाली सञ्चारमन्त्री भए । २०५६ जेठमा लाइसेन्स पाइयो । रेडियो नेपालको एकछत्र राजमा सामुदायिक प्रयासबाट अर्को रेडियो सञ्चालन हुनु परिवर्तनको फड्को नै थियो ।

‘लभ गरियो कि गरिएन ?’

मेरो कार्यक्रममा समाजका गन्यमान्यदेखि सामान्य जनसम्म अतिथि बन्थे । शुरूमा आफूभन्दा उमेरमा पाकालाई मात्र अतिथि निम्त्याउँथें ।

पछि भने छुट्टै मापदण्ड बनाएँ, अनुभव र योग्यतामा आफू भन्दा जेठा–जेठीलाई अतिथि बनाउने । जस्तै, मभन्दा कान्छा, राजा महेन्द्रका प्रमुख निजी सचिव लोकदर्शन बज्राचार्यसँग आठ भाग लामो कुराकानी गरेको थिएँ । त्यसैका आधारमा उनले २०६६ सालमा ‘उहिले बाजेको पालामा’ शीर्षकमै किताब निकाले ।

लगातार १७ वर्षसम्म ‘उहिले बाजेका पालामा’ सञ्चालन गर्दा झ्ण्डै ७०० जनासँग अन्तर्वार्ता गरिएछ । कुनै साता पात्र नभेट्दा कति जनाको वार्तालाप दोहो-याएर प्रसारण गरियो ।

अतिथि बनेका व्यक्ति वितेपछि श्रद्धाञ्जलीस्वरूप पनि कुराकानीको रेकर्ड बजाइन्थ्यो । धेरै पात्रहरूसँग कुराकानी गरेपछि मेरो अनुभव कस्तो भयो भने, प्रायः मानिसलाई मेरो जिन्दगीमा के भएको छ र ? मसँग के छ र ? भन्ने हीनताबोध हुँदो रहेछ । तर कोट्याउन सक्दा तिनै व्यक्तिसँग आफ्नो समयको धेरै सामग्री खाँदिएर बसेका हुँदा रहेछन् ।

अतिथिहरूसँग ठट्टा र रमाइलो पनि हुन्थ्यो । उमेरमा लभ गरियो कि गरिएन भनेर सोध्थें । कोही लाजले गुजुल्टो पर्थे, कतिपय भने खुलेर अनुभव सुनाउँथे । घाँसे वा असारे गीत गाइयो कि गाइएन भनेर सोध्दा कति त गुनगुनाउन कस्सिइहाल्थे । बडो रोचक र मीठो माहोल हुन्थ्यो । कार्यक्रमको अन्तिम भाग २१ असोज २०७२ मा प्रसारण भएसँगै नियमित रेडियो कर्मबाट विदा भएँ ।

जात फिर्ता पाएका वैद्य

पहिलो अतिथि सिद्धिगोपाल वैद्यका पुर्खाले राजपरिवार र श्री ३ का परिवारको उपचार गरेका रहेछन् । उनले बताए अनुसार राजा सुरेन्द्रविक्रम शाहका छोरालाई बिफरले सताएछ । उनका पूर्वजले अनेक उपचार गर्दा पनि बचाउन सकेनछन् । प्रधानमन्त्री भीमसेन थापा र वैद्यमाथि षड्यन्त्र गरेर मारेको अभियोग लागेछ । ती वैद्य र तिनका खलकलाई नै काटिएछ ।

त्यो परिवारका पाँच वर्षका एक बालकलाई चाण्डाल बनाउन पोडेको जिम्मा लगाइएछ । ती बालक भाजुमान वैद्य भएछन्, तर उनी थिए चाण्डाल अर्थात् निकृष्ट मानिने जात ।

त्यसै ताका जङ्गबहादुर राणाकी बिरामी आमालाई भाजुमानले निको पारेछन् । उनलाई चाहिएको कुरा माग्न भनियो । एक कप्तानले सिकाए अनुसार भाजुमानले भनेछन्, ‘म वैद्य भए पनि पोडे भएर बस्नुपरेको छ । हामी पोडे होइन, श्रेष्ठ जातका हौं । जात फिर्ता पाउनुप¥यो सरकार !’ त्यसपछि उनको जात फिर्ता भएछ ।

यो कुरा नेपालको इतिहासमा शायद कतै उल्लेख छैन । ‘उहिले बाजेका पालामा’ कार्यक्रमले इतिहासको खोजीको लागि यस्ता थुप्रै सामग्री उपलब्ध गराएको छ ।

प्रतिकृया दिनुहोस