हङकङमा रोकिएन प्रदर्शन, लाखौं जनता सडकमा
हङकङमा आइतबार भएको विशाल र्यालीमा लाखौं जनता सरकार विरोधी नारा लगाउँदै सडकमा ओर्लिए । त्यहाँ ११ हप्तादेखि सरकार विरोधी प्रदर्शन भइरहेको छ ।
आइतबारको प्रदर्शनमा प्रहरीले हङकङको सेन्ट्रल बिजनेस डिस्ट्रिकमा प्रदर्शनको अनुमति दिएको थिएन । विक्टोरिया पार्कमा मात्र प्रदर्शन गर्ने अनुमति दिएको भएपनि विशाल र्याली भएकाले सेन्ट्रल बिजनेस डिस्ट्रिकसम्म फैलिएको बताइएकाे छ ।
ठूलो वर्षा भए पनि प्रदर्शनकारीलाई त्यसको कुनै पर्वाह देखिएन । हजारौं रंगीन छाता ओढेका प्रदर्शनकारीले नारा लगाइरहेका थिए– ‘क्यारी लाम, स्टेप डाउन’ अर्थात क्यारी लाम कुर्सी छोड । क्यारी लाम हङकङकी प्रमुख एग्जिक्यूटिभ हुन् ।
बिहीबार हङकङको सीमा क्षेत्रमा चिनियाँ सेनाले परेड गरेको समाचारमा बताइएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस बारेमा मंगलबार नै ट्विट गरेका थिए ।
हङकङमा लोकतन्त्र समर्थक आन्दोलनमा ‘डेमाेसिस्टो’ नामक संगठनले अगुवाइ गरेको बताइएको छ । डेमोसिस्टो युवाहरूको एक संगठन हो । यसले हङकङमा लोकतन्त्रको समर्थनमा प्रदर्शन गर्दै आएको बताइएको छ । जोशुवा वाङ, एग्निस चो तथा नाथन लो डेमोसिस्टोका नेता भएको बताइएको छ।
सन् १९९७ मा हङकङ बेलायतबाट चीनले फिर्ता लिएको थियो । त्यहाँका नागरिकहरूको स्वतन्त्रताका लागि ‘वन कन्ट्री टू सिस्टम’ को शासन शैली लागू गरिएको थियो ।
अहिले किन विरोध
बितेको जून महीनामा हङकङमा सुपुर्दगी सम्बन्धी कानून ल्याउन खोजिएको थियो । यो कानून लागू भएमा हङकङका कुनै पनि आरोपीलाई चीनमा सुपुर्दगी गर्ने बाटो खुला हुन सक्थ्यो ।
यसैको विरोधमा शुरु भएको आन्दोलनमा पश्चिमाहरूले खेल्न सक्ने र हङकङ नै स्वतन्त्र हुनुपर्छ भन्नेमा उक्साउन सक्ने भयले चीनलाई चिन्तित बनाएको बताइएको छ ।
अहिलेसम्म यस आन्दोलनमा ७४८ जना आन्दोलनकारीलाई गिरफ्तार गरिएको सरकारी भनाइ रहेको बताइएको छ ।
के हुन् त माग
प्रदर्शनकारीले अहिलेसम्म राखेका मागमध्ये १.नयाँ सुपुर्दगी विधेयक फिर्ता गर्नुपर्ने २. हङकङका प्रमुख एग्जिक्यूटिभ क्यारी लामले पद छोड्नुपर्ने ३.सच्चा सार्वभौमिक मताधिकार हुनुपर्ने ४. गिरफ्तार गरिएकाहरूलाई रिहा गर्नुपर्ने लगायत रहेकोे बताइएको छ । –एजेन्सी