विद्युत प्राधिकरणलाई एक नम्बर संस्था बनाउने ऊर्जामन्त्रीको दाबी
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणलाई सरकारी संस्थानमध्ये सबैभन्दा उत्कृष्ट बनाउने बताएका छन् ।
प्राधिकरणको ३४औं वार्षिकोत्सवको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री पुनले चालू आवमा प्राधिकरणलाई साढे ८ अर्ब रुपैयाँभन्दा बढी नाफामा लैजाने घोषणा गरेका छन् ।
कार्यकारी निर्देशकको व्यवस्थापकीय क्षमता, कर्मचारीको मिहिनेत, नेतृत्वको सहयोग लगायतले प्राधिकरण इतिहासकै उत्कृष्ट बन्न सफल भएको मन्त्री पुनले बताए ।
अरू संस्थाहरू घाटामा चल्दा प्राधिकरण खुद नाफा कमाउने अवस्थामा पुगेकोले अब यसलाई एक नम्बर संस्था बताए ।
उनले तीन वर्षअघि आठ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरणले त्यसपछि निरन्तर नाफा कमाउँदै आएको बताए ।
आव २०७५\०७६ मा प्राधिकरण सात अर्ब २० करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको पनि मन्त्री पुनले बताए ।
उनले नियमित विद्युत आपूर्ति हुन थालेपछि मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको बताए ।
मन्त्री पुनले आगामी दिनमा मुलुकमा पर्याप्त विद्युत उत्पादन भई भारत र बंगलादेशसँग विद्युत् व्यापारका लागि सम्झौता गर्न सक्ने अवस्थामा पुग्ने दाबी गरे ।