सांसदहरुले भने- रवि लामिछानेका समर्थकहरु गैरकानुनी गतिविधिमा (भिडियो सहित)
पत्रकार शालिकराम पुडासैनी आत्महत्याबारे विषय आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले प्रश्न उठाएका छन् । शून्य समयमा बोल्दै सांसदहरुले अनुसन्धान प्रक्रियामा प्रभावित हुनेगरी भइरहेका गतिविधि रोक्न पनि सरकारसँग माग गरेका छन् ।
सांसद महेश्वराज गहतराजले रवि लामिछानेका समर्थकहरुले अनुसन्धान प्रक्रियाप्रति अवरोध सिर्जना गरेको विषय उठाए ।
उनले भने, “के निहुँ पाउँ र कनिका बोकाउँ भन्ने उखानलाई चरितार्थ गर्नेगरी गैरकानूनी रुपमा हुलहुज्जत गर्ने काम भइरहेको छ । म त्यसको निन्दा र भर्त्सना गर्दछु ।”
सांसद गहतराजले अनुसन्धान निष्पक्ष हुनुपर्ने माग गरे । प्रहरीले अनुसन्धान गर्ने र अदालतले दोषी ठहर गर्ने कानूनी प्रक्रिया उल्लङ्घन गर्दै भइरहेका क्रियाकलाप शान्ति सुरक्षा र सुशासनविरुद्ध भएको सांसद गहतराजले बताए ।
“मेरो मान्छे राम्रो हुन्छ, अपराधी हुँदैन भन्ने मनोविज्ञानले समाजलाई कतातिर लैजान्छ ? आज गम्भीर चिन्ता र चासोको विषय हो”, उनले प्रश्न गरे ।
अर्का सांसद यज्ञराज सुनुवारले पनि रवि लामिछानेको गिरफ्तारीपछि भइरहेको गतिविधिलाई रोक्न आग्रह गरे ।
दोषीले कानूनी सजाय पाउनुपर्ने र अनुसन्धान प्रक्रियालाई खलल पुर्याउने गतिविधि रोक्न सांसद सुनुवारले सरकारको ध्यानाकर्षण गराए ।