'सभामुख महाेदय, बाँदर समृद्धिकाे बाधक बन्याे' (भिडियाे सहित)
आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरुले विभिन्न समस्या राखे । सरकारको ध्यानाकर्षण गराउँदै सांसदहरुले राजनीतिकदेखि स्थानीय जनताको समस्या समेत राखे ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि शून्य समयमा बोल्ने क्रममा सभामुखले ओखलढुंगाका सांसद यज्ञराज सुनुवारलाई समय दिए । सांसद सुनुवारले पाएको एक मिनेट दुई वटा प्रशंग उठाए । उनको पहिलो समस्या थियो, बाँदर ।
सांसद सुनुवारले भने, “सभामुख महोदय, नेपालीहरु कहिले द्वन्द्व पीडित, कहिले भूकम्प पीडित र कहिले बाढीपहिरो पीडित भइरहेका छन् । यति देशभरका किसानहरु बाँदर पीडित भइरहेका छन् ।” उनले बाँदर समस्या हल गर्न सरकारको ध्यानाकर्षण गराए ।
संसद बैठकपछि सांसद सुनुवारले हिमाल खबरसँग भने, “मान्छेहरूले बाँदरले समृद्धि रोक्छ भन्यो भने हाँस्छन् । तर, किसानहरुको मूख्य समस्या बाँदर बनेको छ ।”
बारीका अन्नबाली मात्रै होइन, घरभित्रै बाँदर छिर्न थालेकाले संसदमा बोल्न बाध्य भएको सांसद सुनुवारले बताए । उनले भने, “समृद्ध नेपाल निर्माण गर्न कृषि क्षेत्र महत्वपूर्ण छ, बाँदरको बिगबिगी रहेसम्म कृषि क्षेत्र तहसनहस नै हुने भयो ।”
०७१ को प्रशंग सुनाउँदै सुनुवारले भने, “वामदेव गौतम गृहमन्त्री हुँदा ओखलढुंगा जानुभएको थियो । तीन सय बढी किसानले गृहमन्त्रीलाई घेरेर आफ्नो मर्का सुनाएका थिए ।” तत्कालीन गृहमन्त्रीलाई एक महिलाले त ज्वाइँलाई राखिदिएको कुरौनी नै घरभित्र बाँदर छिरेर खाइदिएको पीडा सुनाएकी थिइन् ।
तर, सरकारले ठोस् निर्णय अहिलेसम्म नलिएकाले संसदमा बोल्नु परेको सांसद सुनुवारले तर्क गरे ।