समाचारआइतबार, १ भाद्र , २०७६

एकै दिनमा डुबेर ४ को मृत्यु

कमल रिमाल

प्रदेश १ का सुनसरी, मोरङ र झापामा शनिबार अपरान्ह र राति डुबेर ४ जनाको मृत्यु हुनुका साथै एकजना गम्भीर घाइते भएका छन् ।

इटहरी उपमहानगरपालिका–६ का मोहन भट्टराई (४०) को खेतीखोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै सुनसरीकै रामधुनी नगरपालिका ६ इचोलका सरिलाल राजधामी (५०) को घर नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको छ । भट्टराई र राजधामीलाई स्थानीयले मृत अवस्थामा फेला पारेको प्रहरीले बताएको छ ।

रामधुनी–५ भुमरी चोकका आयुष बस्नेत (१८) सुनसरी कोशी गाउँपालिकाको कोशी नदीले कटान गरेको ठाउँमा नुहाउने क्रममा डुबेर गम्भीर घाइते भएका छन् । सँगै गएका साथीहरूले डुबेका बस्नेतलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगेका थिए । उनको त्यहाँ उपचार हुन नसकेपछि विराटनगर ल्याइएको छ ।

यसैगरी मोरङको रतुवामाई नगरपालिका–७ सिजुवाका आकाश मुखिया (१०) को रतुवा खोलामा डुबेर मृत्यु भएको छ । घरबाट शनिबार बिहान हिंडेका बालक साँझसम्म घरमा नफर्किएपछि खोजी गर्ने क्रममा राति ९ बजे खोला किनारमा कपडा फेला परेको थियो । आसपासमा खोज्ने क्रममा डुबेको अवस्थामा बालकको शव भेटिएको प्रहरीले बताएको छ ।

यसैगरी झापाको बिर्तामोड नगरपालिका–३ विराटपोखरका रोशन बेसराका २ वर्षीय छोरा अजित बेसराको शनिबार अपरान्ह अदुवा खोलामा डुबेर मृत्यु भएको छ । घर नजिकैको खोला किनारमा खेल्दै गरेका बालक पानीमा लडेकाले डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस