सभापति देउवाले रिसाउँदै भने– समाचार सुनेर मसँग प्रश्न गर्ने ?
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पोखरामा गण्डकी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सकिएको छ । प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेशका महाधिवेशन प्रतिनिधिहरुलाई बोलाइएको थियो ।
दुई दिने प्रशिक्षण कार्यक्रममा महामन्त्री डा.शशांक कोइराला बाहेक सवैजसो शीर्ष नेता गएका थिए । शुक्रबारको उद्घाटन समारोहमा शीर्ष नेताहरुबीच एकअर्कामा आरोप–प्रत्यारोप भएपनि शनिबार पार्टीको वर्तमान अवस्था र भावी रणनीतिबारे कार्यक्रममा सहभागीहरुले प्रश्न उठाएका थिए ।
कार्यक्रममा सामेल मनाङ कांग्रेसका सभापति टेकबहादुर गुरुङले हिमाल खबरसँग भने, “कार्यक्रमका सहभागीहरुले स्थानीय तह र निर्वाचन क्षेत्र स्तरीय संगठन निर्माणमा पार्टीले लिएको निर्णयप्रति आपत्ति जनाएका छन् ।”
२६ साउनमा कांग्रेसले स्थानीय तह र निर्वाचन क्षेत्र स्तरीय संगठनको नेतृत्व चयनमा निर्वाचन नगर्ने नीति लिएको थियो । बरु, गोला तान्ने तर निर्वाचनमा नजाने निर्णयप्रति कार्यक्रमका अधिकांश सहभागीले आपत्ति जनाए ।
यसको जवाफमा सभापति देउवाले रिसाउँदै जवाफ दिएका थिए । सभापति देउवाको भनाइ उदृत गर्दै मनाङ कांग्रेसका सभापति गुरुङले भने, “सभापतिले समाचार सुनेर मसँग प्रश्न गर्ने ? भन्नुभयो । उहाँले कांग्रेसको नेतृत्व चयन निर्वाचनबाटै हुने घोषणा नै गर्नुभएको छ ।”