स्वास्थ्य परीक्षण गर्न प्रधानमन्त्री फेरि सिंगापुर जाने, मिति तय हुन बाँकी
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि फेरि सिंगापुर जाने भएका छन् । यसबारे प्रधानमन्त्री ओलीले पार्टीमा जानकारी समेत दिएका छन् ।
तर, कहिले जाने भन्ने निश्चित भएको छैन । बिहीबारको सचिवालय बैठक स्थगित गर्दै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे जानकारी दिएका थिए ।
बिहीबार सचिवालय बैठक बोलाइएपनि प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि बैठक स्थगित भएको थियो ।
भोलिपल्टको बैठकबाट नेकपाको विभागीय जिम्मेवारी टुंगिएको छ । शनिबार जनवर्गीय संगठनको इन्चार्ज तोक्नेगरी बैठक टुंगिएको थियो । तर, शनिबार बैठक बस्न सकेन र आइतबार चार बजेका लागि फेरि बोलाइएको छ ।
नेकपा स्रोतका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको छ । त्यसैले फेरि सिंगापुर जाँदैछन् । तर, जाने मिति भने टुंगो लागेको छैन ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले भने प्रधानमन्त्रीको स्वास्थ्यबारे सार्वजनिक खबरको खण्डन गरेका छन् ।
प्रधानमन्त्री ओलीले भने बिहीबार ज्वरो आएर बिरामी भएपनि चिकित्सकले ‘सवै ठीक छ’ भनेको सन्दर्भ आफ्नो निर्वाचन क्षेत्र झापाका कार्यकर्तालाई जानकारी दिइसकेका छन् ।