कला/साहित्यशनिबार, ३२ श्रावण , २०७६

नेपाल पुत्रीको ‘स्ट्रिपटीज’ कस्तो होला ?

हिमालखबर

- चक्रपाणि (मदनमणि दीक्षित)

सीता, पार्वती, भृकुटी, चारुमती, गार्गी, मायादेवी, प्रजावती गौतमी जस्ता नेपाली नारी–विभूतिहरू जन्मिएको यो नेपाल माटोमा एउटी असहाय नारीलाई ‘स्ट्रिपटीज’ द्वारा सैकडौं पुरुषको सामुन्ने नांगो पारिएको मैले देखें । दुर्भाग्यवश नभनूँ सौभाग्यले हेर्न पुगें, कत्रो अभागी म।

द्रौपदी चीरहरणले महाभारत खडा गरेको थियो ? झूट झूट एकदम झूट ! त्यसबेला महाभारत खडा भएको थियो भने अहिले यहाँ ‘स्ट्रिपटीज’ हुँदा कमिलो पनि किन नरन्थनिई मौन बस्यो?

एक पैसा नतिरी बरु ‘डिनर’ खाएर मैले एउटी नारीको ‘स्ट्रिपटीज’ यहीं हेरें ।

राम–माताको स्ट्रिपटीज कस्तो होला ? श्याम बहिनीको स्ट्रिपटीज कस्तो होला र कृष्ण पुत्रीको स्ट्रिपटीज कस्तो होला ? मानव–पुत्रीको स्ट्रिपटीजमा दानव लुकेको छैन भने नेपाल–पुत्रीहरूको पनि स्ट्रिपटीज कस्तो होला ?

“हे कृष्ण द्वारका वासिन क्वासी यादव नन्दन !” भनी द्रौपदी रोएकी थिइन् दुःशासनले तिनको सारी तान्दा कृष्णले संसारभरीको कपडाले त्यो आँसुलाई पुछेका थिए रे ? होइन त्यो झूट हो । बरु हिंड्नोस् स्ट्रिपटीजमा तिनको तिघ्रा र स्तन नांगो पार्न झ्वाट्ट प्यान्टी र चोलोको जीप तानिदिऊँ ! डिनर खाइदिनुभए पुग्छ रे !

हामी आर्य हौं रे ! हामी आध्यात्मवादी हौं रे ! हामी वैदिकी हौं रे ! हामी नीतिवान् र सदाचारी हौं रे ! विश्वका पाप–पुण्यका अहोरात्र प्रहरी सूर्य चन्द्र हाम्रा गौरवमा छन् रे ।

सब झूट, सब माया, सबै अविद्या, सबै अहंकार, सबै सर्प रज्जु । स्ट्रिपटीज पनि माया, सत्य हो त्यसभित्रको आत्म दर्शन ! त्यसमा अध्यात्म छ! ब्रम्हा, विष्णु, महेशलाई शिशु बनाएर सती अनुसूयाले पनि त आफ्नो स्ट्रिपटीज देखाएकी थिइन् । र ती तिनलाई आत्म ज्ञान दिएकी थिइन् !!

को भन्छ स्ट्रिपटीजमा अध्यात्म छैन र छैन आत्मज्ञान ? अनि हाम्रो देश पनि त शिशु नै छ– अनुसूया ! आऊ अनुसूया आफ्नो स्ट्रिपटीज रोजै देखाऊ हामीलाई !

पश्चिमले एकसय वर्षमा गरेको विकास हामीले दशै वर्षमा प्राप्त गर्नुपरेको छ ! सोभियत ब्याले होइन बोस्टन स्ट्रिपटीजमा पुग्नुपरेको छ । सिम्फोनी आर्केस्ट्रा होइन– ‘जाज’ मा लोलाउनु परेको छ । नेपालको मोटोमा मारुनी होइन स्ट्रिपटीज मौलाउनु परेको छ ।

आँखाले होइन आत्माले रुनुपरेको छ  !

अन्टार्कटिकामा बाहेक आँसुका निम्ति चाहिने सबै ढिका हाम्रा हिमालमा सबभन्दा बढी छँदै छन् नि !

नेपाल तिम्रो संस्कृतिको व्यथा यही हो ।

मेरो आत्मा रुन्छ नेपाल तिम्रो यो स्ट्रिपटीजमा । तिम्रो, तिम्रो संस्कृतिको यो स्ट्रिपटीजलाई म के गर्न सक्छु सिवाय यी दुई थोपा आँसुको जलाञ्जली दिन, मेरो कलमका यी दुई थोपा सुकेका मसीको । आँसु यो कलमका सुकेका दुई थोपा मसी !!

– ४ जेठ २०२५ को समीक्षा साप्ताहिकको ‘सामयिक चर्चा’ स्तम्भमा छापिएको यो लेखका लेखक थिए चक्रपाणि उर्फ मदनमणि दीक्षित । प्रस्तुत लेख ‘लाखौं शिशु लिफ्ट मागिरहेछन्’ पुस्तकमा संग्रहित छ।

 

प्रतिकृया दिनुहोस