व्यक्तित्वशनिबार, ३२ श्रावण , २०७६

वाङ्मयका शिखरपुरुष

रघु पन्त

उच्चस्तरको बौद्धिक चेत र दर्शनको गहिराइ बुझेर साहित्य सिर्जना गर्ने समकालीनमा मदनमणिको कद सबैभन्दा उँचो थियो।

रघु पन्त

गएको ६ फागुनमा मदनमणि दीक्षितको ९६औं जन्मोत्सव मनाइँदै थियो । कान निकै कम सुन्न थाले पनि हिंडाइ, बोलाइमा शिथिलता थिएन । रचनात्मक क्रियाशीलता पनि उस्तै थियो । ‘माड्साप, शतायु पार गरेर दीर्घकालसम्म रचनात्मक जीवन बाँचिरहनुहोस्’, उहाँलाई देखेर सन्तोष मानेर मैले यही कामना गरेको थिएँ । तर जीवनको के ठेगान रहेछ र !

त्यसो त उमेरलाई आधार मान्ने हो भने मदनमणि आम नेपालीको तुलनामा लामै आयु बाँच्नुभयो । तर, नेपाली साहित्यका लागि उहाँको अवसान असामयिक बन्यो । किनकि मृत्युका लागि हरदम तयार भएर पनि उहाँमा उत्साह थियो । लेखनकै लागि जिजीविषा थियो ।

प्रतिभाशाली र प्रखर पत्रकार
मदनमणिसँग मेरो झण्डै ३५ वर्ष लामो चिनजान थियो । त्यस अवधिका अनेकन् भेटघाट, बहस र कुराकानीका संस्मरण छन् । राजनीतिक चिन्तक र कार्यकर्ता, पत्रकार, फोटोग्राफर, दर्शनशास्त्रका ज्ञाता, साहित्यकार अर्थात् मदनमणिका व्यक्तित्वका अनेकौं पाटा छन् ।

जीवनको लामो कालखण्ड प्रतिभाशाली, प्रखर र विलक्षण पत्रकार–सम्पादकको रुपमा विताए पनि मदनमणिको उत्तरार्द्धकाे व्यक्तित्व भने विशिष्ट साहित्यकारको रुपमा प्रतिष्ठित रह्यो । उहाँको दार्शनिक चेत, राजनीतिक ज्ञान र साहित्यिक क्षमताका कारण पत्रकारिताले नेपाली भाषाको प्रयोगमा विशिष्ट र प्रचुर समृद्धि प्राप्त गर्‍यो ।

पञ्चायती व्यवस्थामा उहाँले पत्रकारिताकै कारण पाएको दुःख वर्णन गरिसाध्य छैन । पञ्चायत विरोधी राजनीतिक भावना र विचारलाई जीवन्त राख्ने प्रमुख पत्रिका थियो ‘समीक्षा’ साप्ताहिक । र, त्यसको आधारस्तम्भ हुनुहुन्थ्यो, मदनमणि ।

चक्रपाणि नाममा ‘समीक्षा’ मा लेख्नुभएका उहाँका सामयिक चर्चाहरूको सङ्ग्रह ‘लाखौं शिशु लिफ्ट मागिरहेछन्’ र ‘मेरी आमाको प्रश्नलाई अझै जवाफ चाहिएको छ’ आफ्नो समयका चर्चित रचना थिए । भाषा विन्यास, रसिलो र तर्कपूर्ण लेखन, आकर्षक प्रस्तुतिमा मदनमणि अब्बल हुनुहुन्थ्यो । त्यसैले उहाँको पत्रकारिताले मुलुकलाई बारम्बार तरङ्गित पारिरह्यो ।

गज्जबका फोटोग्राफर
न्यूरोडको खिचापोखरीतिर डेरामा बस्दा जीविकोपार्जनका लागि मदनमणिले केही समय फोटोग्राफी पनि गर्नुभयो । त्यतिवेला भर्खरै काठमाडौंमा बिहेवारीमा दुलाहा–दुलही बन्ने केटा–केटीको फोटो परिवारमा आदान–प्रदानको चलन शुरु भएको रहेछ । स्वयं मदनमणिले एक भेटमा मलाई रमाइलो मान्दै सुनाउनुभएको थियो, “बाबुआमाहरू आफ्ना छोरीहरू लिएर आउँथे र विवाहको लागि हो यसको चिटिक्क परेको राम्रो तस्वीर निकालिदिनुपर्‍याे भन्थे ।”

हेगेलदेखि मार्क्ससम्म आइपुगेको द्वन्द्वात्मक भौतिकवाद र वशिष्ठ, विश्वामित्र र याज्ञवल्क्य लगायत वैदिक ऋषिहरूका सूत्रहरूको गहिरो र तर्कपूर्ण व्याख्या गर्न सक्ने मदनमणिमा विलक्षण क्षमता थियो । यिनै क्षमताले उहाँका प्रत्येक कृति गहन बनाएको छ ।

सामान्य रुपरङ्ग भएका धेरै युवतीको फोटो विभिन्न पोजबाट खिचेर आकर्षक प्रिन्ट बनाएर दिएकै कारणले कतिपयको विवाह भएको कुरा बडो रोचक ढङ्गले सुनाउनुभएको हिजै जस्तो लाग्छ । प्रसिद्ध हलिउड अभिनेत्री एलिजावेथ टेलरका फोटोहरू संकलन गरिएको एउटा फोटो किताब मलाई दिंदै भन्नुभएको थियो, “तपाईं सिनेमामा पनि रुचि राख्ने मान्छे, कुनैवेला काम लाग्न सक्छ । राख्नुहोस् ।”

हिन्दी सिनेमा र सिनेमा हेर्दाका रोचक प्रसङ्ग पनि रमाइला थिए, उहाँका । दर्शन, राजनीति, संस्कृति, धर्म, साहित्य र सिनेमा लगायत अनेकौं विषयका ज्ञान र लेखनले उहाँको सम्पादक एवं पत्रकारको व्यक्तित्व प्रभावशाली बनेको थियो ।

विराट साहित्यिक व्यक्तित्व

साहित्यमा मदनमणिको कुन व्यक्तित्व निर्णायक हो ? उत्तर सजिलो छैन ।

उपन्यासकार, कथाकार, निबन्धकार, वैदिककालीन समाज, दर्शन र चिन्तनका व्याख्याता, डायरी लेखन एवं वैदिक साहित्य र समाजका समालोचक अर्थात् मदनमणिलाई साहित्यको कुनै एउटा विधामा सीमित गरेर मूल्याङ्कन गर्न सकिंदैन ।

‘त्यो युग’, ‘ऋग्वेदः केही प्रमुख सूत्र’, ‘ऋग्वैदिक नारी चरित्र’, ‘हिन्दू संस्कृतिको परिशीलन’, ‘दौपदी र सीता’, ‘विदुषी गार्गी’, ‘हाम्रा प्राचीन नारी’ जस्ता कृतिहरू उबेलै उहाँ बाहेक कसले लेख्न सक्थे होलान् ! नेपाली साहित्यमा पूर्वीय र पश्चिमी दर्शन दुवैको मूलमा पुगेर चिन्तन र विवेचना गर्न सक्ने आफ्नो समयका उहाँ एक मात्र व्यक्तित्व हुनुहुन्थ्यो ।

हेगेलदेखि मार्क्ससम्म आइपुगेको द्वन्द्वात्मक भौतिकवाद र वशिष्ठ, विश्वामित्र र याज्ञवल्क्य लगायत वैदिक ऋषिहरूका सूत्रहरूको गहिरो र तर्कपूर्ण व्याख्या गर्न सक्ने मदनमणिमा विलक्षण क्षमता थियो । यिनै क्षमताले उहाँका प्रत्येक कृति गहन बनाएको छ ।

यसो पनि भन्न सकिन्छ कि वैदिक दर्शन, साहित्य र समाजबारे आफ्नो जीवनको मध्याह्नकालबाटै कलम चलाउन थालेको भए उहाँबाट अझ धेरै महत्वपूर्ण रचना जन्मन सक्थे ।

जीवनको प्रौढ अवस्थासम्म उहाँले साहित्यभन्दा पत्रकारिता र राजनीतिलाई बढी समय दिनुभयो । तर आफ्नो साहित्य लेखनको आरम्भका कथाहरू (जुन ‘कसले जित्यो कसले हार्‍यो’ र ‘ग्यास च्याम्बरको मृत्यु’ मा संग्रहित छन्) पनि नेपाली साहित्यका श्रेष्ठ कथाहरूमा पर्छन् ।

उहाँका पछिल्ला कथा संग्रह ‘श्वेतकाली’ र ‘जेण्डा’ ले पनि उहाँको लेखनको माधुर्य र विशेषता दर्शाउँछ । मेलवादेवीको गायनको विशिष्टता, चन्द्रशमशेरको उनीप्रतिको आसक्ति र दरबारप्रतिको मेलवादेवीको विरक्तिलाई मदनमणिले विभिन्न सन्दर्भमा मीठो शैलीमा लेख्नुभएको कुरा मलाई अझै ताजै छ ।

‘माधवी’ र ‘मेरी नीलिमा’
मदनमणिले ‘मेरी नीलिमा’ कृतिलाई एकालाप भन्नुभएको छ । निबन्धको रुपमा थालेर उपन्यासको शैलीमा परिणत भएको यो कृति नेपाली साहित्यको महत्वपूर्ण उपलब्धि हो । ‘मेरी नीलिमा’ नेपाली साहित्यमै मदनमणिको विशिष्ट प्रयोग हो । र उहाँकै लागि पनि ‘माधवी’ पछिको दोस्रो प्रिय सृजना । उपन्यासमा गहन चिन्तन, भोगाइ र दृष्टिकोण जति गहिरो छ त्यति नै आकर्षक लालित्यपूर्ण लेखन, प्रकृतिसँगको तादात्म्य र वर्णन शैली लाग्दछ ।

‘माधवी’ यस्तो औपन्यासिक कृति हो जसमा आएर नेपाली उपन्यास लेखनले एउटा उँचाइ र प्राप्ति हासिल गरेको छ । ‘माधवी’ विना नेपाली साहित्यको इतिहास अपुरो हुन्छ । वास्तवमा ‘माधवी’ विश्व साहित्यकै लागि अमूल्य रचना हो ।

मदनमणिको नहुनु नेपाली बौद्धिक–साहित्यिक क्षेत्रका लागि धेरै थोक नहुनु हो । यतिवेला हामी एउटा शून्यता र अभावको अनुभूत गरिरहेका छौं ।
‘माड्साप’ भनेर अब कसलाई सम्बोधन गर्ने ?

प्रतिकृया दिनुहोस