संसद बैठक स्थगित
व्यवस्थापिका संसदको आजका लागि बोलाइएको बैठक सूचना टाँस गरी स्थगित भएको छ ।
आज, ३० मंसीर बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सोमबार, ४ पुस दिउँसो १ बजेसम्मको लागि स्थगित भएको हो ।
संसदमा दर्ता भएको संविधान संशोधन विधेयकलाई अघि नबढाइन निर्वाचनका लागि आवश्यक ऐन ल्याउने बारेमा तीन दल सहमति नजिक पुगेको अवस्थामा आजको बैठक स्थगित भएको बुझिएको छ ।
गत १४ मंसीरमा सरकारले संविधान संशोधन विधयेक दर्ता गराएपछि प्रमुख प्रतिपक्षी एमाले लगायतका दलहरुले संसद बैठक अवरुद्ध गर्दै आएका छन् ।
बैठक अवरुद्ध भइरहँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव छलफलभन्दा अघि बढ्न सकेको छैन ।