टिप्पणीशुक्रबार, ३१ श्रावण , २०७६

स्टार्टअप अर्थात् समृद्धिको ‘सेल्फ–स्टार्ट’

गणेश आचार्य

राज्यको प्रोत्साहन, लगानी र सेवाग्राहीको थोरै मात्र साथ पाउने हो भने पनि ‘स्टार्टअप’ ले अर्थतन्त्रमा ‘किक–स्टार्ट’ हैन ‘सेल्फ–स्टार्ट’ कै क्षमता राख्छ।

 

गणेश आचार्य

भविष्य सुरक्षित बनाउने उद्देश्यले देशबाट दिनहुँ युवा विदेशिन्छन्, त्यो पनि कठोर श्रम बजारमा । युवासँगै ऊर्जा, नवीन सोच र ठूलो रकम पनि विदेशिन्छ । तर विदेशिने खर्चलाई नै लगानी गरी ‘स्टार्टअप’ चलाउन राज्यले प्रोत्साहित गर्ने हो भने धेरै युवालाई देशमै रोजगारी र मनग्गे आम्दानी दिन सकिन्छ, जसको सीधा लाभ राष्ट्रिय अर्थतन्त्रले उठाउन सक्छ ।

के हो ‘स्टार्टअप’ ?

समुदायका समस्यालाई समाधान गर्न नवीन सोचका एक वा बढी व्यक्तिले कम लगानीमा स्थापना गरेको व्यवसाय नै ‘स्टार्टअप’ हो । शुरूआतमा ‘स्टार्टअप’ कम्पनी जस्तो बृहत् संस्थागत स्वरुपको हुँदैन । तर राज्य, सेवाग्राही तथा लगानीकर्ताको साथ पाएमा ‘स्टार्टअप’ ले अर्थतन्त्रलाई ‘किक–स्टार्ट’ मात्र हैन ‘सेल्फ–स्टार्ट’ गर्ने क्षमता राख्छ ।

नौलो रेष्टुरेन्ट, दरबारमार्गमा पुगेका शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई खाना पस्कँदै नेपाली रोबोट ‘जिञ्जर’।

विश्वका सफल व्यवसायीमध्येका जेफ बेजोस् (अमेजन), ज्याक मा (अलिबाबा), स्टिभ जब्स (एप्पल), ल्यारी पेज (गुगल) स्टार्टअपबाटै उदाएका हस्ती हुन् ।

छिमेकी भारतकै उदाहरण हेरौं । सन् २००६ मा २५ वर्ष मुनिका तीन विद्यार्थीले बैङ्गलोरमा रेडबस नामक वेबसाइट बनाए । पाँच लाख भारतीय रुपैयाँ लगानीमा बनाइएको यो वेबसाइटबाट उनीहरू अव्यवस्थित बसको टिकट काउण्टर सजिलो बनाउन चाहन्थे । आफ्नो सेवा प्रयोग गर्ने ग्राहक खोज्न उनीहरूले धेरै बस व्यवसायी कम्पनीको ढोका चहारे, तर, कसैले पत्याएनन् ।

यसैबीच, एउटा स्टार्टअप प्रतियोगितामा छानिएपछि उनीहरूको ‘आइडिया’ ले माझिने मौका पायो, जसलाई महेश मूर्तिको कम्पनी सिडफण्डले ७० लाख अनुदान दियो । सिडफण्डले अरू संस्थासँग मिलेर रेडबसलाई अरू तीन–चार वर्षमा करीब ७ करोड रुपैयाँ थप अनुदान दिलायो ।

आज हेरौं, हिजो चार–पाँच वटा सिटका लागि बस व्यवसायी कम्पनीसँग हात जोड्दै हिंडेका ती विद्यार्थीको वेबसाइटमा ५०० भन्दा बढी बस कम्पनी जोडिएका छन् । बेवसाइटबाट एकै दिनमा साढे एक लाखभन्दा बढी टिकटसम्म बिक्री हुन्छ ।

भारत सरकारको लगानी प्रवर्द्धन गर्ने निकाय ‘इन्भेष्ट इन्डिया’ ले ‘स्टार्टअप इन्डिया’ भन्ने छुट्टै एकाइ चलाउँछ । युवाले आफ्ना नयाँ सोच ‘स्टार्टअप इन्डिया’ लाई सुनाउँछन् । ‘स्टार्टअप इन्डिया’ ले सोचको मौलिकता र सम्भावनाको मूल्यांकन पश्चात बौद्धिक अधिकारको प्रमाणपत्र प्रदान गर्छ । सँगै योजनाको प्रवर्द्धन र लगानीकर्ता खोज्न पनि सहयोग गर्छ ।

प्रसिद्ध कम्पनी मेक माइ ट्रिपको अर्को कम्पनी आइबिबोले सन् २०१३ को मध्यतिर यही रेडबसलाई करीब ८ अर्ब भारुमा किन्यो । अहिले रेडबस भारतमा टिकट तथा यात्रा योजना व्यवस्थापन गर्ने सफल कम्पनीमध्ये एक हो, जसमा सयौं युवाले रोजगार पाइरहेका छन् । 

भारत सरकारको लगानी प्रवर्द्धन गर्ने निकाय ‘इन्भेष्ट इन्डिया’ ले ‘स्टार्टअप इन्डिया’ भन्ने छुट्टै एकाइ चलाउँछ । युवाले आफ्ना नयाँ सोच ‘स्टार्टअप इन्डिया’ लाई सुनाउँछन् । ‘स्टार्टअप इन्डिया’ ले सोचको मौलिकता र सम्भावनाको मूल्यांकन पश्चात बौद्धिक अधिकारको प्रमाणपत्र प्रदान गर्छ । सँगै योजनाको प्रवर्द्धन र लगानीकर्ता खोज्न पनि सहयोग गर्छ ।

यस्ता स्टार्टअप व्यवसायलाई केही वर्षका लागि कर छुटको व्यवस्था पनि गरिएको छ । अहिले भारतका प्रत्येक राज्यले ‘स्टार्टअप’ लाई प्रोत्साहन गर्ने छुट्टै एकाइ बनाएका छन् ।

नवीन सोचलाई प्रोत्साहित गर्न बाङ्लादेशका विख्यात लघुवित्तकर्मी प्रोफेसर मोहम्मद युनुसले ‘नवीन’ भन्ने कार्यक्रम नै शुरू गरेका छन् । सन् २०१३ मा थालिएको यो कार्यक्रमले अहिले युनुसले नै स्थापना गरेको ग्रामीण ट्रष्टका सदस्यका सन्तानलाई स्वरोजगार बनाउने अभियान चलाइरहेको छ ।

ती नयाँ पुस्ताका स्टार्टअप सोचलाई ट्रष्ट भित्रैका वा बाहिरका लगानीकर्ताले ६५० देखि ६ हजार ५०० अमेरिकी डलरसम्म लगानी गर्छन् । रोचक कुरा के छ भने, यो लगानी ऋण होइन । युवालाई व्यावसायिक जीवनको पहिलो सिंढीमै ऋणको भारी बोकाउनुहुँदैन भन्ने युनुसको मान्यता छ । बरु, लगानीकर्ता व्यक्ति स्टार्टअप कम्पनीमा दुईदेखि तीन वर्षका लागि केही प्रतिशतको साझेदार रहन्छ ।

व्यवसायी युवाले लगानी फिर्ता गरेपछि कम्पनीलाई सम्पूर्ण रूपमा आफ्नो स्वामित्वमा ल्याउँछ । ग्रामीण ट्रष्टको नवीन कार्यक्रम अन्तर्गत अहिलेसम्म ३८ हजार २०० परियोजनामा रु.५ अर्बभन्दा बढी लगानी गरिसकिएको छ, जसमा ३८ हजार २०० स्टार्टअपका संस्थापक युवासँगै थप ३१ हजारले रोजगारी पाएका छन् । विभिन्न देशले युनुसको यो कार्यक्रम अनुसरण गर्न थालेका छन् ।

नेपालमा के छ ?

रेडबस जस्ता नवीन सोचहरूको कत्ति पनि कमी छैन, नेपालमा । साना–ठूला गरी सयौं स्टार्टअप कम्पनी वर्षेनि दर्ता भइरहेका छन् । केही सफल, केही हराएका छन् । टुटल, पठाओ, मेरो जब, खालीसिसी जस्ता स्टार्टअपले राम्रो व्यवसाय गरिरहेका छन् ।

वर्कशपमा रोबोट ‘परी’ लाई ‘प्रोग्रामिङ’ गर्दै पाइला टेक्नोलोजीका युवा।

पाइला टेक्नोलोजिज् २५ देखि ३० वर्षसम्मका इन्जिनियरिङका विद्यार्थीले शुरू गरेको कम्पनी हो । यन्त्र मानव अर्थात्, रोबोट उनीहरुको विषय हो । पाइलाका सह–संस्थापक दीपकमल भुसाल भन्छन्, “कलेज सकिनै लाग्दा केही साथी विदेशिने योजना बुन्दै थिए, हामी पाँच जनाले भने आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा देशमै केही गर्ने प्रण गर्‍यौं ।”

पाइलाले विभिन्न काममा प्रयोग गर्न सकिने परी र जिन्जर नामक रोबोट बनाएको छ । ती रोबोटको व्यावहारिक प्रयोग गर्न उनीहरूले नौलो नामक होटल नै खोलेका छन्, जहाँ रोबोटले नै खाना बोकेर आउँछ ।

पाइलाकै रोबोटलाई एउटा ब्याङ्कले पनि प्रयोग गरिरहेको छ, जसले सेवाग्राहीलाई सेवा सुविधाबारे जानकारी दिनुका साथै ब्याङ्क परिसरभित्र ‘गाइड’ समेत गर्न सक्छ । “तर, प्रशस्त सम्भावना भएर पनि स्टार्टअप चलाउन गाह्रो छ । लगानी रकम अभाव र कानूनी असहजता जस्ता कुराले निराश बनाउँछ”, भुसाल भन्छन् ।

 तर, नेपालमा भने ‘स्टार्टअप’ हेर्ने, नियमन तथा विज्ञ परामर्श दिने न छुट्टै सरकारी निकाय छ न कानून नै । त्यसैले पनि थुप्रै नवीन सोच कि खेर गइरहेका कि पलायन भइरहेका छन् । पाइला टेक्नोलोजीले नेपाली रोबोटहरू निर्यात गर्ने सपना बोकेको छ ।

अहिले नै केही रोबोटको माग पनि आइसकेको तर उत्पादन र निर्यातबारे कानून नै अस्पष्ट छ । सरकार नै अलमलमा छ । भुसाल भन्छन्, “सरकार आफैंले एउटा छुट्टै निकाय स्थापना गरेर स्टार्टअप पहिचानदेखि लगानीकर्ता खोजिदिनेसम्मको काम गर्नुपर्छ । अनि मात्र युवा पलायन नियन्त्रण गर्न सकिन्छ ।”

 

प्रतिकृया दिनुहोस