प्यूठान, रोल्पा र अर्घाखाँची बन्द, अर्घाखाँचीमा केन्द्रीय नेताहरुले सम्बोधन गर्ने
संविधान संशोधन विधेयक फिर्ता लिन माग गर्दै जारी आन्दोलन अन्तर्गत आजदेखि प्यूठान, रोल्पा र अर्घाखाँचीमा फेरि आमहड्ताल शुरु भएको छ ।
बन्दले यातायात सेवा, बजार, कलकारखाना, शैक्षिक सस्था सवै ठप्प छन् ।
रोल्पा प्यूठान संयुक्त संघर्ष समितिको आह्वानमा ३ पुससम्मका लागि जिल्ला बन्द गरिएको हो भने अर्घाखाँचीमा संघर्ष समितिले अनिश्चितकालीन बन्दको आह्वान गरेको छ ।
संविधान संशोधन माफर्त पहाडी जिल्लालाई प्रदेश नं. ५ बाट अलग बनाउन लागिएको विरोधमा संसदमा विधेयक दर्ता भएदेखि यो प्रदेशका जिल्लाहरुमा आन्दोलन जारी छ ।
शान्तिपूर्ण आन्दोलनबाट सरकारले विधेयक फिर्ता नगरेकाले बाध्य भएर जिल्ला बन्दको आह्वान गर्नु परेको एमाले प्युठान अध्यक्ष तुलसीराम शर्माले बताए ।
प्यूठान, रोल्पा र अर्घाखाँचीमा सबै राजनीतिक दल, उद्योग बाणिज्य संघ, गैसस महासंघ सम्मिलित संयुक्त संघर्ष समिति गठन गरिएको छ ।
त्यस्तै आजै साँझ प्यूठानको विजुवारमा बृहत मशाल जुलुस प्रर्दशन गर्ने कार्यक्रम छ ।
अर्घाखाँचीमा संयुक्त बिरोध सभा
अर्घाखाँचीको सन्धिखर्कमा आज दिउँसो बिशाल बिरोध सभाको आयोजना गरिएको छ । विरोध सभालाई जिल्लामा सक्रिय सबै दलका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने भएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, नेकपा माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझी, एमालेका नेता दल बहादुर राना, राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको संयुक्त संघर्ष समितिका संयोजक बिष्णु मुस्कानले जानकारी दिए ।
बिरोध सभाअघि विशाल जुलुस प्रदर्शनको कार्यक्रम राखिएको छ ।
त्यस्तै संयुक्त संघर्ष समितिले आजदेखि अनिश्चितकालीन अर्घाखाँची बन्दको आह्वान पनि गरेको छ ।
विजयसिंह भारती,प्यूठान/प्रेम आचार्य, अर्घाखाँची