‘प्रधानमन्त्री थाक्नु भएको छ, बिरामी होइन’
प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएको खबरबारे उनको सचिवालयले खण्डन गरेको छ ।
बिहीबार बोलाइएको नेकपाको सचिवालय बैठक अध्यक्ष ओलीको स्वास्थ्य समस्याका कारण स्थगित भएको खबर सार्वजनिक भएको थियो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नै पत्रकारहरुलाई ओलीको स्वास्थ्यका कारण बैठक बस्न नसकेको जानकारी दिएका थिए ।
तर, बिहीबार राति १०ः४० बजे प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार बिष्णु रिमालले यसबारे खण्डन गरेका छन् । उनले प्रधानमन्त्री ओली बिरामी नभएर थाकेका कारण बैठक स्थगित भएको जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीका प्रेस संयोजक प्रेस संयोजक चेतन अधिकारीले भने प्रधानमन्त्री अस्वस्थ भएकै कारण बैठक स्थगित गरिएको हिमाल खबरलाई जानकारी दिएका थिए ।
नेकपामा स्कूल विभागको विवादले सचिवालय बैठक लगातार स्थगित हुँदै आएको छ ।