टिप्पणीबिहिबार, ३० श्रावण , २०७६

गाइजात्राः नेवारको मौलिक पर्व

वसन्त महर्जन

गाईजात्राको शुरूआतबारे कान्तिपुरका राजा प्रताप मल्लसँग जोडेर अर्थ्याउने गरिए पनि यसको झलक लिच्छविकालमा समेत पाइन्छ।

वसन्त महर्जन

प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाको भोलिपल्ट नेवार समुदायले स्थानीय बोलीचालीमा ‘सायाः’ भनिने गाईजात्रा पर्व मनाउँछन् । यो पर्व कसरी शुरू भयो भन्ने बारेमा कान्तिपुरका राजा प्रताप मल्ललाई जोडिन्छ ।

राजकुमारको मृत्यु भएपछि रानीले विलाप गरेपछि अरूका पनि छोराछोरी मरेका छन् भनेर बुझाउन मृतकको नाममा गाईको भेष धारण गरी दरबार परिक्रमा गर्नुपर्ने उर्दी जारी भएको र त्यसपछि गाईजात्राको चलन बसेको किंवदन्ती छ ।

यी राजाका एक राजकुमारको मृत्यु भएको घटना सत्य हो । तर यस सांस्कृतिक पर्वसँग त्यो घटनाको सम्बन्ध देखाउने कथा इतिहाससम्मत भने होइन ।

समाजमा प्रचलित सांस्कृतिक गतिविधि एवं पर्व–जात्रालाई अर्थ्याउने तथ्यगत र प्रासंगिक कुरा नभेटेपछि लोकलाई विश्वस्त पार्न कुनै पुराणसँग जोड्ने वा नयाँ कथाको सिर्जना गर्ने प्रवृत्ति हुन्छ । जिज्ञासु सर्वसाधारणलाई तत्कालका लागि चुप लगाउने यो एउटा काइदा होला, तर यसले वास्तविकतालाई बिर्साउने मात्र नभई समाज विकासको इतिहासलाई नै ओझेलमा पार्छ ।

तस्वीर : वसन्त महर्जन

इतिहास र संस्कृति विषयमा लेख्नेहरूले पनि सत्य–तथ्यमा शंका र अनुसन्धान गर्नुपर्ने दायित्वबाट पन्छिएर जनश्रुति, किंवदन्ती आदि रहेको भन्दै तिनै कुरा हुबहु उतार्ने गरेका छन् । कुनै एक ठाउँ वा समाजविशेषलाई सामान्यीकरण गर्दा सांस्कृतिक चिन्तन नराम्रोसँग प्रभावित हुनपुग्छ भन्नेतर्फ हेक्का राख्नुपर्छ ।

गाईजात्राकै प्रसङ्गमा चर्चा गरौं । राजा प्रताप मल्ल विस्तृत भूभागको प्रतापी राजा थिएनन्, सानो उपत्यका (काठमाडौं) भित्रको तीनमध्ये एक राज्यको मात्रै राजा थिए । छिमेकी राज्यहरूसँग पनि खासै राम्रो सम्बन्ध नभएका उनको प्रभाव पूरै उपत्यकाको सांस्कृतिक जीवनमा परेको अनुमान कसरी गर्ने ? बरु यस विपरीत काठमाडौंमा मनाइने गाईजात्रा अन्यत्रको तुलनामा कम विकसित देखिन्छ ।

भक्तपुर, पनौती लगायत ठाउँमा मनाइने गाईजात्रामा प्राचीनता झल्किन्छ। तर काठमाडौंको गाईजात्रामा यसको अभाव देखिनुले यो पर्वको थालनी प्रताप मल्लसँग नजोडिने कुरामा बल पुर्‍याउँछ ।

गाईजात्रा सम्बन्धी प्रायः लेखोटमा मृतकको घरबाट गाईको भेषमा कुनै बालकलाई शहर परिक्रमा गराइने उल्लेख पाइन्छ, जुन सही भएर पनि पूूर्ण होइन । भक्तपुर र पनौतीमा ‘ताहामचा’ भनेर मृतकको नाममा बेग्लाबेग्लै लिङ्गो आकारमा बनाइएको खट निकाली नगर परिक्रमा गराइन्छ, जुन हात भएको र नभएको दुई प्रकारको हुन्छ ।

मृतकको घरबाट गाई निकालिनुलाई ‘थाचिनेगु’ भनिन्छ । यो प्रचलनमा प्रायः समानता पाइए पनि कीर्तिपुरमा भने अलि फरक छ । त्यहाँ मृतकको घरबाट मात्रै नभएर नयाँ घर बनाउँदा पनि एक जनालाई गाई बनाएर नगर घुमाइन्छ । तर नयाँ घर बनाउँदा पनि गाईको भेषमा नगर परिक्रमा गराउनुको कारण र गाईजात्रासँग यसको सम्बन्धबारे अध्ययन हुनसकेको छैन ।

तर, कीर्तिपुर तथा पाँगामा मुकुन्डो सहित बेग्लै बोल र तालको नाच नाचिन्छ, जसलाई ‘धाकः लुइगु’ भनिए पनि ‘धेपाँधेधे’ नामबाट बढी चिनिन्छ । नाचमा सहभागीहरू बेग्लाबेग्लै भेषभूषामा तोकिएका वस्तु बोकेर बस्तीको निश्चित ठाउँमा नाच्ने गर्छन् । गाई तथा गोरुको भेषमा आउनेहरू पनि हुन्छन् ।

मृतकको नाममा ‘वसः घाकाः छ्वयेगु’ भनी एक व्यक्तिलाई मुकुण्डो सहित प्रशस्त लुगा लगाइदिएर पठाउने चलन पनि छ । छिमेकी बस्ती कीर्तिपुर र पाँगामा कतिपय प्रचलनमा समानता रहे पनि नाच्ने तरिका र बाजाको शैलीमा अन्तर हुन्छ । यसका साथै पाँगामा ‘धाकः लुइगु’ क्रममा नाच्ने ठाउँमा हिलाम्मे पारेर हेर्न आउनेहरूलाई छिटा पारिन्छ । कीर्तिपुरमा भने त्यसरी हिलो पारिंदैन ।

मृतकको घरबाट गाई निकालिनुलाई ‘थाचिनेगु’ भनिन्छ । यो प्रचलनमा प्रायः समानता पाइए पनि कीर्तिपुरमा भने अलि फरक छ । त्यहाँ मृतकको घरबाट मात्रै नभएर नयाँ घर बनाउँदा पनि एक जनालाई गाई बनाएर नगर घुमाइन्छ । तर नयाँ घर बनाउँदा पनि गाईको भेषमा नगर परिक्रमा गराउनुको कारण र गाईजात्रासँग यसको सम्बन्धबारे अध्ययन हुनसकेको छैन ।

धेरैजसो समाजमा मृत्युसँग सम्बन्धित विधि–व्यवहारमा जोड दिएको हुन्छ । काठमाडौंमा इन्द्रजात्राको वेला ‘उपाकू’ जाने भनेर प्राचीन नगरको सीमा क्षेत्रमा रहेका देवस्थलहरूमा बत्ती बालेर तथा धारणी पाठ गरेर परिक्रमा गर्ने चलन बौद्ध समाजमा छ ।

उपाकू जानेहरू गाईजात्रामा गाई बनेर घुुम्न नपर्ने मान्यता छ । कीर्तिपुरमा पूर्णिमाको राति कुनै चैत्य वा विहारबाट शुरू गरेर नगरभरिका सम्पूर्ण देवस्थलमा पूजा गरी नगर परिक्रमा गर्ने चलन छ । यसपछि भोलिपल्ट गाईजात्रामा सहभागी हुनुपर्छ ।

झ्वाट्ट हेर्दा गाईजात्रा हिन्दू धर्मसँग सम्बन्धित जस्तो देखिन्छ र यही अनुसार व्याख्या पनि गरिन्छ । तर विभिन्न ठाउँको गाईजात्राको अवलोकनपछि यो कुनै धर्मविशेषसँग सम्बन्धित नभई काठमाडौं उपत्यकाको नेवार समाजमा विकसित मौलिक सांस्कृतिक पर्व भन्ने निष्कर्षमा यो पंक्तिकार पुुगेको छ ।

यो पर्वको उल्लेख कुनै प्राचीन हिन्दू तथा बौद्ध धार्मिक ग्रन्थमा उल्लेख नहुनु, हिन्दू तथा बौद्ध नै भए पनि नेवार बाहेक अन्य समाजमा नपाइनु यो निष्कर्षका आधार हुन् ।

प्रतिकृया दिनुहोस