स्थानीय निर्वाचनको मिति घोषणा चाँडै: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले अबको केही दिनभित्रै स्थानीय निर्वाचनको मिति घोषणा हुने बताएका छन् ।
सिरहामा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले सरकारको सम्पूर्ण ध्यान संविधान कार्यान्वयनप्रति केन्द्रित भएको बताउँदै राष्ट्रिय एकतालाई बलियो बनाउन सरकार क्रियाशील रहेको बताए ।
“सकेसम्म मधेश, पहाड, हिमाल सबैको स्वीकार्यता बढाएर, मधेशी दललाई पनि विश्वासमा लिएर राष्ट्रिय एकतालाई बलियो बनाइ संविधान कार्यान्वयन गर्ने र निर्वाचनको वातारण बनाउनेतिर नै सरकारको जोडबल छ,” उनले भने — “संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्ताव सरकारले कुनै पनि हालतमा फिर्ता नलिने तर त्यसमा सकारात्मक परिमार्जन भने गर्न सकिन्छ ।”
उनले निर्वाचन मिति घोषणा बारे तीन दलबीच गम्भीर रुपमा छलफल भइरहेको हुँदा सहमतिमा छिट्टै नै निर्वाचनको मिति घोषणा हुने पनि बताए ।
संविधान संशोधन प्रस्तावको विरोध गर्नु र आफूमाथि राष्ट्रघाती आरोप लगाउनु गलत भएको टिप्पणी गर्दै ढिलै भए पनि प्रतिपक्ष समेत संशोधन प्रस्तावको पक्षमा आउने दाहालले दाबी गरे ।
मधेशबाट चुनाव जितेकाले मधेशप्रति आफ्नो ठूलो जिम्मेवारी रहेको प्रशङ्ग कोट्याउँदै उनले मधेशका जिल्लामा खानेपानी, बिजुली, सडकलगायतका पूर्वाधार निर्माणतर्फ सरकारले प्याकेजसहित काम अघि बढाएको बताए ।
पत्रकार सम्मेलनमा ऊर्जामन्त्री जनार्दन शर्मा र कानुनमन्त्री अजयशङ्कर नायकको पनि उपस्थिति थियो ।
यसअघि प्रधानमन्त्री दाहाल आज बिहान सिरहाको मिर्चैयामा आयोजित सिरहा क्षेत्र नम्बर– ५ संसदीय कोष विकास समितिको बैठकमा पनि सहभागी भएका थिए ।
दाहाल हिंजो आफन्तका छोराको विवाहमा सरिक हुन महोत्तरी पुगेका थिए ।