संविधान कार्यान्वयन नभए देशमा जे पनि हुन सक्छः सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन हुन नसके देशमा जे पनि हुनसक्ने भएकाले पुरानै संरचनामा निर्वाचन गर्ने तयारी थालिएको बताएका छन् ।
नेपाल महिला सङ्घ केन्द्रीय समितिले काठमाडौंमा आयोजना गरेको तालिमको उद्घाटन गर्दै सभापति देउवाले पूरानै संरचनामा स्थानीय निकायको निर्वाचनबारे आफूले नेकपा एमालेका अध्यक्ष केपी ओली र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेको बताए ।
विसं. २०७४ माघभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने भएकाले दलहरुबीचमा सहमति गरेर अगाडि जानुपर्ने उनले बताए । देउवाले भने, “संविधानले पूर्णता नपाए देश दुर्घटनातर्फ जानसक्छ । गणतन्त्र कसैले खोस्न सक्छ ।”
राणा, पञ्चायत र राजा फ्याँकेर लोकतन्त्र र गणतन्त्र स्थापनामा कांग्रेसको नेतृत्वदायी भूमिका भएको भन्दै उनले थपे, “संविधानको निर्माणमा कांग्रेसले नेतृत्वदायी भूमिका मात्रै होइन, कार्यान्वयनमा पनि गराएरै छाड्छ ।”
“स्थानीय निकायको चुनाव हुन्छ, हुन्छ, हुन्छ,” देउवाले भने ।
संविधान संशोधन प्रस्तावमार्फत् चित्त नबुझेकाको माग पूरा गरेर संविधान कार्यान्वयन गर्ने उद्देश्यका साथ प्रस्ताव लगिएको भन्दै उनले संसद्मा प्रस्ताव लगे पास हुने डरले एमालेले संसद् चल्न नदिएको उनले आरोप लगाए ।
रासस