अझै कति खेल्छन् क्रिस गेल ?
यतिबेला भारत वेष्टइण्डिजको टूरमा छ । टी–२०, एक दिवसीय र टेष्ट सिरिज भइरहेको छ, भारत र वेष्ट इण्डिजबीच ।
बुधबार राति एक दिवसीय खेल चल्दै थियो । ओपनिङमा आएका थिए, तिनै स्टार क्रिस गेल । गेलको ब्याटबाट यसरी रन निस्कन थाले कि मानौं, एक दिवसीय नभएर टी–२० चलिरहेको छ ।
तर, एभिन लेविससँगको पार्टनरसीप तोडिएपछि भने गेलको ब्याटिङमा थोरै धर्मरायो । तर क्रिस गेल न हो । ४१ बलमा पाँच छक्का, आठ चौकासहित ७२ रन जोडे ।
ब्याट उचाल्नासाथ बाउण्ड्री मात्रै देख्ने गेलको शैली नै हो । उनी एक दुई रन दौडेर क्रिजमा रहन मन पराउँदैनन् । बुधबार राति पनि गेलले त्यसै गरे । ७२ रन जोड्दा बाउण्ड्रीबाट मात्रै ६२ जोडे ।
धेरैले पहिलेजस्तै क्रिस गेलले यही खेलबाट सन्यास लिनेछन् । किनभने उमेरले गेल ४० वर्ष पुग्न लागे । खेल संख्या मात्रै पनि एक दिवसीयतर्फ मात्रै ३०१ खेल खेले ।
३०१ खेल भएकाले जर्सी पनि ३०१ नै लगाएका थिए । वेष्ट इण्डिजका क्रिकेटरले खेलेको यो सवैभन्दा बढी खेल हो ।
गेलले ३०१ खेलबाट १० हजार ४८० रन जोडेका छन् । यो क्रममा गेलले २५ शतक र ५४ अर्धशतक प्रहार गरे ।
क्रिस गेलले कति खेले त ? सायद, क्रिस गेल नखेलेको कुनै अन्तरराष्ट्रिय खेल नै रहेन । त्यसले एउटा सफल क्रिकेटरले खेल्नुपर्ने जति क्रिस गेलले खेलिसके ।
पछिल्लो समय हरेक खेलपछि अड्कल हुन्छ, अब क्रिस गेलले सन्यास लिन्छन् । तर, गेलसँग रेडिमेट जवाफ छदैछ– अझै बुढो भएको छैन ।
अघिल्ला पटकजस्तै भारतसँग भएको बुधबारकाे खेलपछि सन्यास लिने धेरैको अनुमान बिपरीत क्रिस गेलले अझै जवान रहेको प्रतिक्रिया दिए ।