पोखरा–साराङकोट केवलकार शिलान्यास
पोखरा, फेवातालको किनार सेदिबगरबाट साराङकोटसम्म केवलकार सञ्चालनका लागि आज शिलान्यास भएको छ ।
अन्नपूर्ण केवलकार प्रालीले सञ्चालन गर्न लागेको उक्त केवलकार आगामी डेढ वर्ष भित्र निर्माण सम्पन्न गरिने अध्यक्ष कालु गुरुङले जानकारी दिएका छन ।
जापानी कम्पनी निप्पोन केवलकारको प्रविधिमा १६ देखि ३६ वटा डिब्बा रहने केवलकारका लागि विभिन्न स्थानमा १४ वटा पोल राखिने छ ।
केवलकारमा चढेर सेदिबगरदेखि सराङकोट हाईटसम्म ७ देखि ९ मिनेटको यात्रामा पुग्न सकिने अन्नपूर्ण केवलकार प्रालीले जनाएको छ ।
केवलकार यात्रामा मनमोहक ताल, हिमाल, हरिया डाँडाका साथै पोखराको सौन्दर्य हेर्न सकिने छ । केवलकारका अध्यक्ष गुरुङले सूर्योदय र सूर्यास्त समेत केवलकारबाट हेर्न मिल्ने गरी विहानदेखि बेलुका सम्म सञ्चालन गरिने बताए ।
झण्डै रु १ अर्बको लगानीमा निर्माण थालिएको केवलकारमा जापानी समूहको १५ प्रतिशत, स्थानियबासीको १० प्रतिशत र नेपाली व्यवसायी समूहको ७५ प्रतिशत लगानी रहेको पनि गुरुङले जानकारी दिए ।